चितवन विशेष
नारायणगढ लायन्सद्धारा निःशुल्क मधुमेह परीक्षण, एक सय जनाले लिए सेवा
चितवन, कार्तिक २९–
विश्व मधुमेह दिवसको अवसर पारेर नारायणगढ लायन्स क्लब र लियो क्लब अफ नारायणगढले संयुक्त रुपमा बिहीबार निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न गरेको छ ।
भरतपुर चौविसकोठीमा रहेको निदान प्याथोलोजीको प्राविधिक सहयोगमा नारायणगढस्थित लायन्सचोकमा विहानबाट सुरु गरिएको कार्यक्रममा एक सय जनाको मधुमेह परीक्षण गरिएको नारायणगढ लायन्स क्लबका अध्यक्ष राजु पियाले जानकारी दिए । उनका अनुसार खाना अघि र खाना पछि दुवै किसिमबाट मधुमेह परीक्षण गरिएको थियो । कार्यक्रममा निदान प्याथोलोजीका टिका पंगेनी, मोहन तिवारी र सीमा चौधरीले मधुमेह परीक्षण गरेका थिए ।
कार्यक्रममा लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक २३५ आरका द्धितीय डिष्ट्रिक्ट गभर्नर लायन प्रभाकर पण्डित, जोन चियरपर्सन लायन दुर्गा निरौला, नारायणगढ लायन्स क्लबका पदाधिकारी, लियो क्लवका पदाधिकारीलगायतको उपस्थिति रहेको कार्यत्रम संयोजक लायन प्रशन्न कुमार जोशीले बताए ।
चितवनकै पुरानो क्लव नारायणगढ लायन्सले सामाजिक कार्यमा निरन्तर सक्रिय रहेको छ । क्लवले शिक्षा, स्वास्थ्य, अन्य सामाजिक कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउँदै आइरहेको छ ।