अन्तर्राष्ट्रिय

भियतनाममा समुद्री आँधीमा मर्नेको सङ्ख्या १२७ पुग्यो

Banner

हानोई, भदौ २६-

भियतनाममा यागी आँधीका कारण हालसम्म १२७ जनाको ज्यान गएको छ । अरू ५४ जना बेपत्ता छन् । यागीका कारण शनिवारदेखि भारी वर्षा र बाढीको अवस्था सिर्जना भएको छ ।

देशका कयौँ हिस्सामा पहिरो पनि गइरहेका छन् । उत्तरी भियतनाममा बाढीले घरहरू डुबानमा पर्दा हजारौँ मानिस घरको छानामा उद्धारको पखाईमा बसिरहेका तस्बिरहरू अनलाइन र सामाजिक सञ्जालभरि आइरहेका छन् । सामाजिक सञ्जालमा धेरैले सहयोग माग्दै पोस्ट पनि गरिरहेका छन् ।

यागी भियतनाममा गएको ३० वर्षमा गएको सबैभन्दा शक्तिशाली समुद्री आँधी हो । यसले खासगरी देशको उत्तरी हिस्सामा उत्पात मच्चाएको छ । सोमबार फु थो प्रान्तमा फोङ चाउ पुल भत्किँदा कयौँ सवारी साधन नदीमा खसेका थिए । आँधी पश्चिमतर्फ सर्ने क्रममा क्षति थप बढ्ने चेतावनी अधिकारीहरूले दिएका थिए ।

आँधी १५० किलोमिटर प्रतिघण्टाको गतिमा अगाडि बढ्दै गइरहेको छ । आँधीका कारण आएको मुसलधारे वर्षाले बाढी र पहिरो निम्त्याउँदा कयौँ पुल र भवनहरू भत्किएका छन् । भियतनाम भन्दा पहिले यो समुद्री आँधीले दक्षिणी चीन र फिलिपिन्समा विध्वंस गरेको थियो । सो आँधीले २४ जनाको ज्यान लिएको थियो । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>