समाचार

८६ हजार निजामती कर्मचारीमध्ये भेटिएनन् एकजना पनि ‘सर्वोत्कृष्ट’

Banner

काठमाडौं, भदौ २२-

यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारीविनै निजामती दिवस मनाइने भएको छ। शनिबार २१औँ निजामती दिवस मनाइँदै गर्दा सरकारले विगतका सात वर्षमा जस्तै यो वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेट्टाउन नसकेको हो।

निजामती सेवाका ८६ हजार कर्मचारी रहँदा पनि सरकारले एकजना पनि सर्वोत्कृष्ट भेट्न नसकेको हो। योग्य र सक्षम कर्मचारी नभेटेपछि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार यो वर्ष पनि कसैलाई नदिइएको स्रोतले जनाएको छ।

शुक्रबार अपराह्न निजामती पुरस्कार सिफारिस छनोट समितिको बैठक बसेको थियो । बैठकपछि संघीय मामिला तथ सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद पराजुलीले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती पुरस्कार कसैलाई नदिने स्पष्ट पारे। उनका अनुसार यो वर्ष २० कर्मचारीले निजामती सेवा पुरस्कार र २० ले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउनेछन्।

मुख्यसचिवको अध्यक्षतामा सर्वोत्कृष्ट तथा निजामती पुरस्कार सिफारिस समिति गठन हुन्छ। समितिमा संघीय मामिला तथा अर्थ मन्त्रालयका प्रतिनिधिसमेत सहभागी हुन्छन्।

सर्वोत्कृष्ट पुरस्कार दुई लाख रुपैयाँको छ। २०७३ सालमा भने शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट कर्मचारी पुरस्कार दिइएको थियो। सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हालसम्म चारजनाले मात्रै पाएका छन्।

२०६८ सालमा तत्कालीन परीक्षा नियन्त्रक सूर्य गौतम, २०६९ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका सचिव भगवतीकुमार काफ्ले र २०७० मा उपत्यका विकास प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त भाइकाजी तिवारीले पुरस्कार हात पारेका थिए।

निजामती सेवा दिवसका अवसरमा २०६१ सालदेखि सरकारले सर्वोत्कृष्ट, उत्कृष्ट र निजामती सेवा पुरस्कार दिन थालेको थियो। सर्वोत्कृष्ट कर्मचारी छान्ने क्रम २०७४ सालदेखि हुन नसकेको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>