समाचार
शिक्षकको हाजिर नगराएपछि वडाध्यक्ष र नगरप्रमुखबिच घम्साघम्सी

चितवन, साउन २९-
तपुरसिमरा उपमहानगर शिक्षा समितिले सरुवा गरेको शिक्षकलाई वडाध्यक्षले हाजिर गराउन रोकेपछि नगरप्रमुख र वडाध्यक्षबिच घम्साघम्सी भएको छ ।
उपमहानगरको नगर शिक्षा समितिको गत जेठ १७ गते निर्णय गरेर सरुवा भएकी शिक्षिका सीता अधिकारीलाई वडा नं २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठले हाजिर गर्न नदिएर रजिष्टर लुकाएपछि मंगलबार जनप्रतिनिधिबिच घम्साघम्सी भएको हो ।
सरुवा भएका शिक्षकलाई हाजिर गर्न अवरोध गरिएपछि जीतपुरसिमरा उपमहानगरका प्रमुख राजन पौडेल आफैँ विद्यालयमा पुगेका थिए । त्यतिबेला वडा अध्यक्ष श्रेष्ठले कुनै पनि हालतमा शिक्षिका अधिकारीलाई हाजिर हुन नदिने अडान राखेपछि दुई पक्षबिच केहीबेर घम्साघम्सी भएको हो ।
नगरप्रमुख संयोजक रहेको शिक्षा समितिले गत जेठ १७ गते ९५ शिक्षकको दरबन्दी मिलानको निर्णय गरेको थियो । अधिकांश शिक्षक सरुवा निर्णय कार्यान्वयन हुँदा माध्यमिक तहमा नेपाली विषयका २ जना शिक्षकलाई हाजिर गराउने विषय भने लामो समयदेखि कार्यान्वयन हुन सकेको छैन ।
उपमहानगरले नेपाली विषयका शिक्षक मेघराज बराललाई सिमराबाट जीतपुर र अधिकारीलाई जीतपुरबाट सिमरामा सरुवा गरेको हो । वडाध्यक्ष श्रेष्ठले हाजिर गर्न रोक लगाएपछि सरुवा पत्र बुझेर लामो समयदेखि सिमरा माविमा धाइरहेकी शिक्षिका अधिकारी दिनभर कक्षाकोठा बाहिर बसेर समय कटाउँदै आएकी छन् ।
यता नेरा मावि सिमराबाट राजेश्वर गिरी, फकिरा गिरी मावि जितपुरमा सरुवा भएका शिक्षक मेघराज बराललाई वडाध्यक्षको दबाबमा विद्यालयले रमाना नदिँदा माध्यमिक तहको नेपाली विषय पठनपाठन ठप्प प्रायः छ । नेरा मावि सिमराका प्रधानाध्यापक शंकर आचार्यले शिक्षिका अधिकारीलाई हाजिर गराउन खोज्दा वडाध्यक्षले रोक लगाएको बताए ।
























