अन्तर्राष्ट्रिय
हसिनाका छोराले भनेः बंगलादेशमा अहिले भीडको शासन छ, सरकार पूर्णतया शक्तिहीन

काठमाडौं,साउन २८-
बङ्गलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले देशमा ‘भीडको शासन’ कायम भएको आरोप लगाएका छन् । उनले निर्वाचनबिना यही अवस्था लम्बिए देश अराजकतातर्फ जाने चेतावनी दिएका छन् । हसिना गत सोमबार मित्र राष्ट्र भारततर्फ गएकी थिइन्। पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ । उनी भारत आएपछि सेनाले उनको राजीनामाको घोषणा गरेको थियो र त्यसपछि विद्यार्थीको मागमा नोबेल शान्ति पुरस्कार विजेता ८४ वर्षीय मोहम्मद युनुसलाई अन्तरिम प्रशासनको नेतृत्व सुम्पिएको छ ।
अमेरिकामा बस्दै आएका हसिनाका छोरा तथा पूर्व सरकारका सल्लाहकार ५३ वर्षीय सजीब वाजेद जोयले अन्तरिम सरकारको आलोचना गर्दै यसलाई ‘पूर्णतया शक्तिहीन’ सरकारको संज्ञा दिएका छन् । उनले एएफपीलाई दिएको अन्तर्वातामा भनेका छन्, अहिले बङ्गलादेशमा भीडको शासन छ । प्रदर्शनकारीको मागमा प्रधानन्यायाधीश, केन्द्रीय बैंकका गभर्नर र प्रहरी प्रमुखलगायत उच्च अधिकारीलाई पदबाट हटाइएको छ । यदि भोलि भीडले हामी अन्तरिम सरकारमा रहेका व्यक्तिलाई परिवर्तन गर्न चाहन्छौं भन्यो भने उनीहरूलाई परिवर्तन गर्नुपर्छ ।
युनुसले ‘केही महिनाभित्रै चुनाव होस् भन्ने चाहेको’ बताउँदै आएका छन् तर, वाजेदले चुनावमा ढिलाइ भए अराजकता बढ्ने चेतावनी दिए । हसिनाले जनवरीमा भएको चुनावमा विजय हासिल गरेकी थिइन् । तर विपक्षी नेताहरूलाई जेलमा थुनेर हुने चुनाव स्वतन्त्र वा निष्पक्ष हुन नसक्ने भन्दै वास्तविक प्रतिद्वन्द्वीहरूले निर्वाचन बहिष्कार गरेका थिए । हसिना भागेपछि लाखौँको सङ्ख्यामा रहेका उनको अवामी लिगका सदस्यहरू लुकेर बसेका छन् । उनीहरूमाथि प्रतिशोधपूर्ण आक्रमण भएको छ र पार्टी कार्यालयमा आगजनी गरिएको छ ।
























