कृषि

कृषि व्यवसाय स्थापनाका लागि कृषि विश्वविद्यालयका ७ समूह पुरस्कृत

Banner

चितवन, साउन २५-

चितवनमा कृषि व्यवसाय स्थापना गर्नको लागि ७ वटा समूह पुरस्कृत भएको छ । चितवनको सिराइचुलीमा आज सम्पन्न कार्यक्रममा बुट क्याम्प प्रशिक्षण र पुरस्कार समारोह २०२४ बाट कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीको ७ समूह पुरस्कृत भएको हो । प्रतिस्पर्धाका लागि १२९ जनाले निवेदन दिएका थिए । जसमा ४ देखि ५ जनाको टिम बनाएर २० समुह छनोट गरिएको थियो ।

विश्वविद्यालयका विद्यार्थीको उत्कृष्ट ७ समूहलाई प्रत्येकसमूहलाई १५ लाखसम्म अनुदान र आवश्यक प्राविधिक सहयोग गरिएको छ । विश्वविद्यालय रजिष्ट्रार प्राध्यापक डा. शारदा थपलियाले विद्यार्थीलाई पठन पाठन संगै उद्यमी कसरी बनाउने भन्ने विषयमा आधारित रहेर तालिम दिएको बताउनुभयो ।

२०२३ मा युएसएआईडी कृषि शिक्षा परियोजना आइसकेपछि विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठन पाठनमा मात्र सिमित नभई उद्यमी कसरी बनाउने भन्ने विषयमा यस तालिमले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले भन्नुभयो,‘विद्यार्थीलाई व्यवसाय कसरी सञ्चालन गर्ने, उत्पादन गरिएको वस्तुलाई बजारमा कसरी पुर्याउने, कसरी नाफा आर्जन गर्ने, व्यवसाय सञ्चालन गरिसकेपछि आउने चुनौती समस्याहरुलाई कसरी सहजिकरण गर्ने भनेर तालिम दिइएका छौँ ।’

विजेता भुमिवरदान समुहको प्रतिनिधित्व गरेका हेमन्त कंडेलले आफ्नो टिम पुरस्कृत भएकोमा खुसी व्यक्त गर्नुभएको छ । उहाँले नेपालको कृषि विकास दिगो नभएको बताउनुभयो । नेपालको कृषि विकासलाई दिगो बनाउन आफ्नो समुहले योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यहाँको माटोको उर्वरा शक्ति घट्दै गइरहेको छ । यस्तो किन भइरहेको छ । यसलाई कसरी नियन्त्रण गर्ने कुन कुन प्रविधिबाट अनुसन्धान गर्ने भन्ने विषय तालिमबाट जान्ने अवसर पायौँ ।’

पुरस्कृत हुनुभएकी अर्को समुहको प्रतिनिधित्व गर्नुभएकी प्रमिशा जोशीले नेपालमा वर्षैनी डेंगुबाट मानिसको मृत्यु भएको बताउँदै डेंगुबाट बच्नको लागि पातिबाट औषधी उत्पादन गरी प्रयोगमा ल्याउने योजना लिइएको बताउनुभयो ।

विदेशमा उत्पादन भएको औषधी खपत भइरहेको समयमा स्वदेशी औषधी उत्पादन गरी बजारमा ल्याउने योजना रहेको उहाँले बताउनुभयो ।
टस्किगी विश्व विद्यालयद्वारा कार्यान्वयन गरिएको यूएसएआईडी कृषि उच्च शिक्षा परियोजनाले यस विश्वविद्यालय सँगको सहकार्यमा नेपाल युवा उद्यमी २०२४ बुट क्याम्प तालिम अगस्ट ५ देखि ९ सम्म आयोजना गरेको थियो ।

सथगुरु म्यानेजमेन्ट कन्सल्टेन्टले सहजिकरण गरेको कार्यक्रममा २० वटा आगिंक क्याम्पसका ८८ जना विद्यार्थी लाभान्वित भएका छन् ।

कार्यक्रमको समापन समारोहमा कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा.पुण्य प्रसाद रेग्मी, रजिष्ट्रार डा.शारदा थपलिया, यूएसएआईडी कृषि उच्च शिक्षा आयोजनाका आयोजना निर्देशक डा.नर काजी गुरुङ र देशिय व्यवस्थापक डा.भृगु ऋषि दुवाडीले उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>