अन्तर्राष्ट्रिय
बंगलादेशको घटनाबारे बोल्यो नेपालः संयम अपनाउन आह्वान

काठमाडौं,साउन २३-
नेपालले सोमबार बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले देश छाडेपछि र सेनाले सरकार लिएपछि उत्पन्न घटनाक्रमबारे बुधबार चासो व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा बंगलादेशमा लोकतान्त्रिक प्रक्रियामा जोड दिँदै संयमता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ।
‘बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ, ‘बंगलादेशमा विगत केही सातादेखि भएको विरोध प्रदर्शनका क्रममा घटनाक्रमहरुप्रति हामी गहिरो चिन्तित छौं। मृतकहरुको परिवारजनमा हामी गहिरो समवेदना व्यक्त गर्दछौं र सबै घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौं।’
नेपालले सबैलाई शान्ति र संयमका लागि आहवानसमेत गरेको छ। ‘हामी लोकतानिन्त्रक प्रक्रियाको महत्वमा जोड दिँदै सबैलाई शान्ति र संयमको लागि आह्वान गर्दछौं। हामी विश्वस्त छौं कि बंगलादेशका साहसी र उदार जनता शान्ति र स्थिरतातर्फको सहज राजनीतिक संक्रमण सुनिश्चित गर्न सक्षम हुनेछन्,’ परराष्ट्रले भनेको छ।

























