Breaking News
पुरा समय काम गर्दैनन भरतपुर अस्पतालका चिकित्सक, दिनमा पाँच घण्टा काम गरेर क्लिनिकमा टाप

चितवन, साउन १९-
भरतपुर अस्पतालका चिकित्सकले पुरा समय काम नगरेको पाइएको छ । स्वास्थ्य सेवा नियमवालीभन्दा उनीहरुले हप्तामा १२ घण्टा कम काम गरेको पाइएको हो । भरतपुर अस्पतालले बहिरंग सेवा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सञ्चालन गर्ने गर्दछ । यहाँ काम गर्ने चिकित्सक दैनिक ५ घण्टा काम गरेर घर फर्कने गर्दछन् । स्वास्थ्य सेवा नियमवाली अनुसार चिकित्सकले हप्तामा ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । तर, यहाँका चिकित्सकले हप्तामा ३० घण्टामात्र काम गर्दछन् ।
अस्पतालले दुई सिफ्ट सञ्चालन गर्ने क्रममा पनि डिउटी समय घटाएर चिकित्सकलाई हप्तामा ३० घण्टा मात्र काम लगाउने तयारी गरेको छ । अस्पतालले बहिरंग सेवा बिहान नौ बजेदेखि दिउँसो दुई बजेसम्म पहिलो सिफ्ट र ११ बजेदेखि चार बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने बताएको छ । यस निर्णयले डिउटी समय हप्तामा १२ घण्टा घटेको छ । तर, चिकित्सकहरु दुई सिफ्टमा अस्पताल सञ्चालन गर्ने अवस्थामा देखिदैनन् । दुई सिफ्टमा काम गर्नका लागि सेवासुविधा थप गर्नुपर्ने अस्पतालका चिकित्सक बताउँछन् । अहिलेको अवस्थामा दिउँसोको सिफ्टमा दुई घण्टा समय थप गर्न सकिने एक चिकित्सकले बताए ।
निर्णय कार्यान्वन हुँदा क्लिनिकमा विरामीको संख्यामा कमी आउने निर्णय नमान्ने चिकित्सकहरुको बुझाइ छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ४ गते भरतपुर अस्पताललाई सेवा विस्तार गर्न ९ वटा बुँदे सहित परिपत्र गरेको छ । सरकारको निर्णयलाई चिकित्सकले नमान्दा विरामीहरु समस्यामा परेका छन् ।
भरतपर अस्पतालले साउन १५ गतेदेखि पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने गरी अस्पताल सञ्चालन गर्ने जनाएको थियो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्राडा.कृष्णप्रसाद पौडेलले अर्को सातादेखि सरकारको निर्णयलाई लागु गर्ने बताए । भरतपुर अस्पतालमा दैनिक ओपिडिमा दुई हजार हाराहारीमा बिरामी आउने गर्दछन् ।
























