धार्मिक/सांस्कृतिक
सामाजिक सञ्जालमा ट्रोल भएपछि चन्द्रकलाले भनिन्ः म कुनै विद्वान होइन, सानोतिनो त्रुटि हुँदा क्षमा दिनुहोला

काठमाडौं, साउन १७-
कथावाचिका चन्द्रकला सखी प्रवचनको पहिलो दिनको प्रस्तुतिमै सामाजिक सञ्जालमा ट्रोल हुन पुगेकी छन् ।
कोटी होममा भाग लिन लन्डनबाट आएकी कथावाचिका सखीले प्रवचनका क्रममा उनले ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि अहिले यसैलाई उनको अज्ञानताको परिसूचक मानेर सामाजिक सञ्जालमा ट्रोल हुन पुगेकी हुन् ।
चन्द्रकलाले बोलेको यस्तो थियोः
शिवजीले गलामा के लगाउनुहुन्छ ? सर्पलाई धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह । कार्तिकेयको बहान हो मयूर । फेरि गणेशजीको बहान हो मुसा । त, सिंह जो छ, साइन्समा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, कि सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने भनेको मुसा हो । तर, शिव परिवारभित्र एक-आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेकौं जातजाति त छौं, सबैले एकसाथमा मिलेर बस्न सक्छौं । मिलेर बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?
विपरीत स्वार्थ र रुचि बोकेकाहरू पनि एउटै समाजमा मिलेर बस्न सक्छन् भन्ने दृष्टान्त दिन सखीले भगवान् शिव परिवारको प्रसंग निकालेकी हुन् । तर, ‘गोरुको आहारा मयूर’ हो भन्ने शब्दलाई मात्रै टिपेर टिकाटिप्पणी गरिएको छ ।
सामाजिक सञ्जालमा आइरहेका विषयवस्तुलाई लिएर चन्द्रकलाले बिहिबारको सम्बोधनमा सन्दर्भ उल्लेख नगरिकन घुमाउरोरूपमा प्रष्टीकरण दिइन् । उनले आफू एक विदुषी नभएकोले सानोतिनो त्रुटिहरू हुन सक्ने बताइन् । बोल्दा कहिलेकाहीँ जिभ्रो चिप्लिन सक्ने भन्दै त्यसलाई ध्यान नदिन आग्रह गरिन् ।