समाचार
मानव बेचबिखनमा शून्य सहनशीलता हुनुपर्छः गृहमन्त्री लेखक

पाटन, साउन १५-
गृहमन्त्री रमेश लेखकले मानव बेचबिखन जस्तो भयानक विश्वव्यापी अपराधमा शून्य सहनशीलता हुनुपर्ने बताउनुभएको छ ।
मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले आज ललितपुरको नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज)मा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले प्रहरीको प्रयासले मात्रै यस किसिमको अपराध न्यूनीकरण हुन सक्दैन सबैको सहयोग आवश्यक छ भन्नुभयो । उहाँले स्थानीय तह, विद्यालय तहका विद्यार्थी, शिक्षक समेतले मिलेर सचेतना जगाउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
“मानव बेचबिखन अन्तर्राष्ट्रिय जघन्य अपराधका रुपमा लिइएको छ, यो अपराधको दुष्प्रभाव एउटा भूगोलमा मात्रै सीमित छैन, यसलाई साझा दुस्मनका रूपमा लिएर निरुपण गर्नुपर्छ, यो विश्वव्यापी दुष्चक्र लागुऔषधसरहको अपराधका रूपमा लिएर अनुसन्धानका लागि तीन महिनासम्म राखेर अनुसन्धान गर्ने व्यवस्था हुनुपर्छ,” गृहमन्त्री लेखकले भन्नुभयो, “यसलाई अत्यन्त गम्भीर प्रकृतिको अपराधको श्रेणीमा राखेर अपराधको अनुसन्धानमा देशको कुनै सीमाले प्रभावित नपार्नेगरी काम गर्न सहयोग पुग्नेगरी कानुन निर्माण गर्नुपर्छ ।”
मानव बेचबिखन विरुद्धको अपराधमा काम गर्न मानवीय जनशक्तिको अभावमा मात्रै काम रोकिने अवस्था आउन नदिइने बताउँदै उहाँले स्रोत र साधनको उपयोग गरेर अपराध न्यूनीकरणमा नेपाल प्रहरीले गरिरहेको काम राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो । गृहमन्त्री लेखकले स्थानीयस्तरमा विद्यार्थी र शिक्षकमार्फत सार्वजनिक बिदाका दिन मानव बेचबिखनविरुद्ध सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
“विश्वव्यापी तथ्याङ्क हेर्दा महिला बाढीपीडित, त्यसपछि नाबालिका पीडित छन्, गरिबी, अशिक्षा एउटा कारण हो, अर्को महत्त्वपूर्ण कारण चेनता हो, त्यो स्थानीय पालिका र शिक्षक विद्यार्थीले गर्न सक्नुहुन्छ, मिलेर काम गरौँ भने एक दुई वर्षभित्रै न्यूनीकरण हुनसक्छ, सञ्चारमाध्यम पनि चेतनामूलक सामग्री प्रसारण गरेर सहयोग गरिदिनुपर्छ, सबैले मिलेर लाग्दा सफल हुन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो ।
गृहसचिव एकनारायण अर्यालले मानव बेचबिखन विश्वको साझा चासो, चुनौती र सरोकारको विषय भएको बताउँदै खोज, प्रमाण र तथ्यका आधार अपराधीलाई मुद्दा चलाउन सूचना उपलब्ध गराएर अनुसन्धानमा सहयोग पु¥याउन सबैमा आग्रह गर्नुभयो । रासस























