समाचार
‘गौशाला २६ को निवेदनले पुनरावेदन रोक्दैन’

काठमाडौं, साउन १५-
गौशाला २६ ले उच्च अदालतबाट सफाइमा टुंगिएको बलात्कारविरुद्धको मुद्दा अघि नबढाउन निवेदन दिए पनि नरोकिने भएको छ। उनले दिएको निवेदनले मुद्दा पुनरावेदन प्रक्रियामा कुनै पनि असर नपर्ने महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।
सरकार वादी रही क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबर्जस्तीकरणीको जाहेरी दिने आँट गरेकी गौशाला २६ ले आफू मानसिक रूपमा थाकेको भन्दै मुद्दा अगाडि नबढाउन निवेदन दिएकी हुन्। उनको निवेदनसँगै मुद्दा रोकिने हो कि भन्ने धेरैले आकलन पनि गरेका छन्।
न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले २०८१ जेठ २ मा जबर्जस्तीकरणी मुद्दामा सफाइ दिने फैसला गरेको थियो। फैसलाको पूर्ण पाठ डेढ साताअघि सार्वजनिक भएको थियो।
फैसलामा पीडित गौशालाको स्वास्थ्य परीक्षणको प्रतिवेदनलाई मात्रै प्रमाण मान्न नसकिने र अन्य कुनै पनि प्रमाणमा भार नपुग्ने ठहर गरिएको हो। मुद्दामा सफाइ दिने फैसलाको चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गर्ने कानुनी प्रावधान सुरक्षित छ। त्यो पुनरावेदनको प्रक्रियालाई गौशालाले दिएको निवेदनले रोक्न नसक्ने सरकारी वकिलले बताएका छन्।
फैसलाको पूर्ण पाठ आएको एक सातापछि गौशालाले उच्च सरकारी वकिलको कार्यालय पाटनमा मुद्दा रोक्ने मनशायसहित निवेदन दिएकी हुन्। गौशालाले आफूले मानसिक रूपमा धेरै तनाव खेप्नुपरेकाले मुद्दामा पुनरावेदन निवेदन दर्ता नगर्न आग्रह गरेकी छन्।
‘मुद्दा दर्ता भएलगत्तै मेरो मानसिक एवं सामाजिक जीवनमा परेको अतुलनीय असरको फाइदा उठाउँदै विभिन्न व्यक्ति तथा संस्थाले प्रतिवादीविरुद्धको भ्रमपूर्ण खबर र ममाथि दबाब फेलाउँदै आएका थिए,’ उनले निवेदनमा भनेकी छन्, ‘अदालतले फैसलामा लिएका सम्मान गर्दै आफ्नो शान्तिपूर्ण जीवन जिउनु मेरो प्राथमिकता रहेकाले मुद्दाको कार्य अगाडि नबढाउनुुहुन निवेदन गर्छु।’
यसअघि बलात्कार मुद्दामा यस्ता खालका निवेदन सायदै नपरेको महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहाल बताउँछन्। ‘यस्ता खालका निवेदन आउँदैनन्। जसलाई निवेदन दिने हक छ, उसैले दिने हो। यस्ता खालका निवेदन आएको मलाई खासै जानकारी छैन,’ उनले भने। मुद्दा पुनरावेदनका लागि जाने/नजाने भन्ने विषयमा गौशालाको निवेदनले कुनै फरक नपार्ने उनी बताउँछन्। ‘मिसिल संलग्न प्रमाणका आधारमा पुनरावेदन गर्ने हो। सरकारवादी मुद्दा कसैले निवेदन दिँदैमा रोकिने होइन,’ दाहालले भने।