अन्तर्राष्ट्रिय
विष्णु खत्रीले स्पेनको खावियामा नचाए छमछमी

स्पेन, साउन १५-
चर्चित लोक गायक विष्णु खत्रीले प्रवासमा रहेका नेपालीहरुलाई छमछमी नचाएका छन् । स्पेनको कोष्टाव्लाङ्का निवासी नेपालीहरुले खाबियाको विन्दिया रेष्टुरेन्टमा आयोजना गरेको सांगीतिक कार्यक्रममा खत्रीले लोक गीतमा नचाएका हुन् ।
गायक खत्रीले मौलिक पञ्चैबाजाको गीत ‘धवलागिरीको’, ‘भरिया दाई’, ‘दुना टपरी’, ‘घर त बाग्लुङ गलकोट तिर हो’, ‘सालैजो’ भाका लगायतका दर्जनौं गीत गाएका थिए । खत्री यतिबेला युरोप यात्राका क्रममा सांगीतिक कार्यक्रममा व्यस्त छन् । कोष्टाव्लाङ्का निवासी नेपालीहरुले उनलाई भव्य सम्मान समेत गरेका छन् ।
नेपाली जनप्रगतिशील मञ्च युरोपका सदस्य केशर बहादुर थापाले गायक खत्रीका गीतहरु देश–परदेशका दुःख सुख समेटेर जीवन्त बनेको बताए । ‘उहाँका गीतहरु कहिल्यै पुराना हुदैनन्, सधैं नयाँ जस्तै लाग्छन्’, उनले भने, ‘लोक संस्कृति जगेर्ना गर्न जीवन्त गीतहरुलाई प्राथमिकता दिएर कलाकारलाई प्रोत्साहन गर्नुपर्छ ।’
नेपाली जनप्रगतिशील मञ्च स्पेनका उपाध्यक्ष केशवराज कँडेलले स्पेनका नेपालीहरुले नेपाल सम्झाउने गतिविधि गर्दै आइरहेको बताए । ‘पर्यटन प्रवर्द्धन, कलाकारको प्रोत्साहन गर्न एकजुट हुँदै आएका छौँ’, उनले भने, ‘गायक विष्णु खत्रीका गीत प्रत्यक्ष सुनेर रमाएका छौँ ।’
नेपाली जनप्रगतिशील मञ्च कोष्टाव्लाङ्काका अध्यक्ष बालकुमार बुढाले परदेशमा रहेका नेपालीले नेपाली लोक, संस्कृति जोगाउन बेलाबखत सांगीतिक कार्यक्रम गर्दै आइरहेको बताए । ‘परदेशमा रहेपनि नेपाली भाकाहरु भुलेका छैनौँ’, उनले भने, ‘अग्रज गायक खत्रीको सांगीतिक कार्यक्रमले नेपालीहरुलाई उर्जा थपेको छ ।’
गायक खत्रीलाई कोष्टाव्लाङ्कामा रहेका विभिन्न नेपाली संगठनहरुले सम्मान गरेका थिए । खत्रीले यहि अगष्ट १ (साउन १७)मा बार्सिलोनामा सांगीतिक प्रस्तुति दिदैछन् । अगष्ट ३ मा पोर्तुगलको जम्बुजिरा, अगष्ट ५ मा बेल्जियम लुवेनमा पुग्नेछन् । पोर्तुगल, माल्टा, फिनल्यान्डका केही सांगीतिक कार्यक्रम गरिसकेका छन् ।
























