चितवन विशेष
लागुऔषध नियन्त्रण गर्न सचेतनामूलक कार्यक्रम आवश्यक छः प्रजिअ इन्द्रदेव यादव

चितवन, साउन ६-
जिल्ला प्रशासन कार्यलयका प्रमुख इन्द्रदेव यादवले सरकारले लागुऔषध नियन्त्रण सम्बन्धि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेे बताउनुभएको छ ।
लागुऔषध दुव्र्यसनी सचेतना तथा न्युनीकरण समिति भरतपुर ११ गणेस्थानले शनिबार आयोजना गरेको लागुऔषध दुव्र्यसन नियन्त्रण सम्बन्धी छ महिने अभियान कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादवले यस्तो बताउनु भएको हो ।
उहाँले परिवार, समाज, सरकार मिलेर लागुऔषध दुव्र्यसन निर्मुल पार्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रायजसो आमा बुबालाई आफ्नो छोराछोरी लागुऔषधमा फसेको कुरा थाहै हुँदैन । पहिले त आमा बुबा सचेत हुनुपर्दछ । आमा बुबा सचेत भए लागुऔषध दुव्र्यसनबाट जोगाउन सकिन्छ ।’ आगामी दिनमा यो अभियानलाई कसरी दिगो रुपमा अगाडी बढाउनुपर्ने भन्ने विषयमा योजना बनाई राख्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा महिला बालबालिका विरुद्धको अपराध, लागु औषध नियन्त्रण न्युनिकरण, कानुनी कारबाही, युवाको समाजप्रतिको दायित्व र सरकारको भुमिका विषयक प्रशिक्षण तथा अन्तरकृया समेत गरिएको थियो ।
प्रहरी कार्यलयका प्रहरी उपरिक्षक भावेष रिमालले लागुऔषध सामान्य लत भनेर नबुझ्न आग्रह गर्नुभएको छ । लत जुनसुकै कुरामा पनि लाग्न सक्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘लतलाई सामान्य रुपमा लिनुहुँदैन । पछि यही लतले बिकारल अवस्था सृजना गर्छ ।’ बुबाआमाले प्रत्यक्ष रुपमा आफ्नो छोराछोरीसँग साक्षत्कार गर्नुपर्ने सुझाव उहाँले दिनुभयो । उहाँले समय दिन नसक्ने परिवारमा दुव्र्यसनीको लत हुने बताउनुभयो । उहाँका अनुसार लागुऔषध न्युनिकरण गर्नको लागि व्यक्ति आफु सचेत हुनुपर्छ । परिवार, राज्यले यसको प्रभावको बारेमा बुझ्न सके लागुऔषध दुव्र्यसनी न्यूनीकरण गर्न सकिने छ । परिवार, समाज, सरकार सकृय भए लागुऔषध, चोरी, हत्या हिसांका घटना सृजना नहुने उहाँको भनाई छ ।
यस्तै खुल्लेआम चोक चोकमा लागुऔषध बिक्री वितरण हुन थालेपछि लागुऔषध दुव्र्यसनी सचेतना तथा न्युनीकरण समितिले लागुऔषध नियन्त्रण सम्बन्धी छ महिने अभियान थालेको हो ।
लागुऔषध दुव्र्यसनको समस्यालाई न्यूनीकरण गर्न यस समितिले बिहानी, दिवाकालिन, सन्ध्याकालिन र आवश्यकता अनुसार रात्रिकालीन निगरानि गस्ती गर्दै आएको समितिको प्रतिवेदनमा जनाएको छ । दुव्र्यसनी न्यूनिकरणको लागि चेतनामुलक सडक नाटक, लागुऔषध सम्बन्धी सन्देश मुलक डिजिटल स्टिकर बनाई बिजुलीका पोलमा टास्ने, नव जागृती सामुदायिक वन क्षेत्रको झाडी भित्र लुकिछिपि लागुऔषध प्रयोग गरी फालिएका सिरिन्ज, सिसी, प्लाष्टिकजन्य वस्तुहरु तथा अनावश्यक झाडीहरु समेतलाई सर–सफाई गर्नेलगायत काम गरेको छ ।
कार्यक्रममा प्रहरी कार्यलयका डिएसपी श्रीराम भण्डारीले लागुऔषध, लागुऔषध भनेको के हो? नेपालमा लागुऔषधको अवस्था, यसको शारीरिक, मानसिक, आर्थिक प्रभाव र यसबाट कसरी जोगिन सकिन्छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो । यस्तै पूर्व प्रहरी निरीक्षक तथा सञ्चारकर्मी सन्तोष पन्त लगायतले नेपालमा युवाको भुमिका कस्तो छ भन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रमका सहयोगी संस्था सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञविलाश पौडेल वाइवीले सबै मिलेर लागुऔषध दुव्र्यसनलाई सुधार गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले यस अभियानमा आफुपनि जोडिन पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस अभियानमा सधैसँगै रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै प्रहरी नायब निरिक्षक कोईरालाले प्रस्तुत गर्नुभएको तथ्याङक अनुसार जिल्लामा गत आर्थिक वर्ष २०८०/८१ मा लागुऔषध सम्बन्धी १५१ वटा मुद्धा दर्ता भएको छ । जसमा २०३ स्वदेशी पुरुष, २१ जना महिला, ६ भारतीय पुरुष, एक भारतीय महिला, एक बेलायती पुरुष पक्राउ परेका थिए ।