समाचार
लागुऔषध प्रयोगकर्ता बीच विवाद हुँदा एक जनाको हत्या

नेपालगञ्ज, असार २९-
नेपालगन्जमा एक जनाको हत्या भएको छ। नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ३८ वर्षीय इरसद राई (कबाडिया)को शुक्रबार राती करिव १०ः३० बजेतिर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक नारायण डाँगीका अनुसार धारिलो हतियार प्रहार गरी उनको एक अज्ञात समूहले हत्या गरेको हो।
हत्या गर्ने समूहको पहिचान नभए र उक्त समूहले प्रयोग गरेको मोटरसाईकल फेला परेको डिएसपी डाँगीले बताए।
‘हत्या गर्ने ब्यक्तिको पहिचान भएको छैन, तर हामीले एउटा मोटरसाईकल फेला पारेका छौं, सोही आधारबाट हामी हत्यारा पक्राउ गर्न नजिक पुगिसकेका छौं,’ उनले भने।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लागु औषध दुर्व्यसनीकर्ताबीच आपसमा विवाद भएको थियो। विवाद मिलाउन खोजेका राईको नै हत्या भएको बुझिएको छ। गम्भिर घाईते भएका राईलाई तत्कालै भेरी अस्पतालमा लगिएको थियो।
अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले बताएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
























