स्वास्थ्य

पाल्पालाई पूर्ण खोप सुनिश्चितता घोषणा

Banner

रामपुर (पाल्पा), असार २७-

पाल्पा जिल्लालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । जिल्लाका दशवटै पालिकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको हो । हरेक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने प्रावधानअनुसार यहाँ १६ महिनादेखि पाँच वर्षमुनिका बालबालिकाले पूर्ण खोप पाएपछि घोषणा गरिएको हो । पूर्ण खोप सुनिश्चितताका लागि ९५ प्रतिशत सूचकाङ्क पूरा गर्नुपर्ने हुन्छ । जिल्लाका सबै स्थानीय तहले ९५ प्रतिशत सूचकाङ्क पूरा गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालयका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार दशवटै स्थानीय तहका सबै वडामा घरधुरी सर्वेक्षण गरी जन्मेदेखि १५ महिनामुनिका तीन हजार तीन सय आठजना बालबालिका र छुट्टै १६ महिनादेखि पाँच वर्षमुनिका दश हजार पाँच सय ६० जना बालबालिकामध्ये सर्वेक्षण गर्दा भेटिएका छ जना बालबालिका ड्रप आउट भएकालाई सबै पूर्ण खोप पाएको सुनिश्चित गरिएको छ ।

गत वैशाख २० गते पूर्वखोला गाउँपालिका, २७ गते रिब्दीकोट गाउँपालिका, ३१ गते माथागढी गाउँपालिका, जेठ १ गते रैनादेवीछहरा गाउँपालिका, २ गते तिनाउ गाउँपालिका, ४ गते रम्भा गाउँपालिका, ७ गते निस्दी गाउँपालिका, १४ गते बगनासकाली गाउँपालिका, २४ गते तानसेन नगरपालिका र ३० गते रामपुर नगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चिता घोषणा गरिएको हो ।

जिल्लालाई पहिलोपटक २०७० फागुन १३ गते पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको थियो । विगत तीन वर्षदेखि जिल्लालाई दिगोपना सुनिश्चितता घोषणाको निरन्तरता दिइएको छ ।

लुम्बिनी प्रदेशका सभामुख तुलराम घर्ती मगर (वसन्त) ले खोप समन्वय समितिका संयोजक टङ्कनाथ खनाललाई जिल्ला घोषणाको प्रमाण हस्तान्तरण गर्दै पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभएको हो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>