चितवन विशेष

चित्रसारी मन्दिरमा गंगा आरतीको तयारीपछि विरोधमा उत्रिए थारु अगुवा

Banner

चितवन, असार २६–

थारुहरुको धार्मिक आस्थाको धरोहर मानिने चित्रसारी मन्दिर क्षेत्रमा गंगा आरतीगर्ने विषयमा चितवनका थारुहरुले विरोध जनाएका छन् । चित्रसेन बाबा मन्दिर व्यवस्थापनसँग भएको सहमति विपरित चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति बनाएर धार्मिक अतिक्रमणगर्न खोजेको आरोप लगाएका छन् ।

चित्रसेन बाबा मन्दिर सम्बन्धी थारु समुदायको छातासंस्था थारु कल्याणकारिणी सभा क्षेत्र नं. ८ ले आयोजना गरेको वृहत छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि थारु अगुवाहरुले यो वा त्यो वहानामा आफुहरुको धार्मिक आस्थाको धरोहरमाथी आक्रमणगर्न खाजेको आरोप लगाएका छन् । मन्दिर व्यवस्थापन समितिले सुरुमा मन्दिरको ठिक पारीपट्टी वडा नं. ७ मा गंगा आरतीगर्न दिने बारे सहमति दिएको थियो । पछि मन्दिर क्षेत्रमै गंगा आरतीगर्ने तयारी गरे । आरती व्यवस्थापन उप–समिति बनाउने सहमति भएको थियो तर मन्दिर व्यवस्थापन समितिसँग भएको सहमति विपरित चित्रसेन बाबा मन्दिर आरती व्यवस्थापन समिति बनाए । समितिका केही पद्धाधिकारीहरुले गंगा आरतीगर्ने भनिएको ठाउँ (मन्दिर क्षेत्रका नदी)मा शिवको मुर्ती बनाउने योजनाहरु सार्वजनिक गर्न थालेपछि थारु समुदायले शंकागर्न थाले ।

मन्दिर व्यवस्थापनका अध्यक्ष जलराम चौधरीले मन्दिर क्षेत्रमा कुनैपनि खालका संरचना बनाउने विषयमा छलफल नभएको बताए । मन्दिर क्षेत्रमा थारु समुदायको इच्छा विपरित कुनैपनि थप संरचना बनाउन दिँदैनौं उनले भने–‘वडाबासीहरुकै सल्लाह अनुसार आरतीगर्न दिने सहमति दिएका थियौं ।’ चित्रसारी मन्दिर गोठौलीका थारु समुदायले संरक्षणगर्दै आएको छ ।

रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतोले विकासको नाउँमा पुरानो धार्मिक तथा प्राकृतिक सम्पदाहरुको स्वरुप विगार्न नहुने बताए । चित्रसेनबाबाको मन्दिरमा भोगभात अर्थात बली चढाउने चलन छ । भोग (बली) चढ्ने ठाउँमा गंगा आरतीहुँदैन । गंगाकै पुजा आरधनागर्ने हो भने चित्रसेनबाबाकै मन्दिर छेउछाउमा किन गर्न पर्यो ? उनले भने यस्ता अन्य धेरै ठाउँहरु छन् जहाँ गंगा आरतीगर्न सकिन्छ । गंगा आरतीगर्ने बारेको पहिलो बैठकमा वडा नं. ७ का वडा अध्यक्ष महतो पनि सहभागि थिए । त्यो बेला मन्दिरको पारी पट्टीगंगा आरतीगर्ने भनिएको थियो । पछि मन्दिर क्षेत्रमै आरतीगर्ने तयारी भएछ उनले भने–‘यो कुरा हामीलाई स्वीकार्य छैन ।’

बैठकमा थारु कल्याकारिणी सभाका केन्द्रीय पार्षद चन्द्राकुमारी चौधरीले थारुहरुको आस्थाको धरोहरमाथी कसैलेपनि गिद्धेनजर लगाउन नपाउने बताइन् । पुस्तौंदेखि संरक्षणगर्दै आएको आस्थाको धरोहरलाई अहिले आएर कसैले लुट्न खोजे चुप लागेर बस्न नहुने तर्क गरिन् । ‘थारु समुदाय प्रकृतिको पुजारी हो । हाम्रा देवी देवताहरु स्वतन्त्र छन् । हामीले हाम्रो देवी देवताहरुमा डिष्टप भएको होस भन्ने चाहन्नौं’ उनले थपिन् ।

चित्रसेन बाबा जे हुनुहुन्छ ठिक हुनुहन्छ थप मठमन्दिर बनाएर त्यहाँ वरिपरि अनेक गतिविधि गरेर डिष्टपगर्न आवश्यक छैन । यो विषयमा सशक्त आवाज उठाउन आवश्यक रहेको उनको भनाई थियो। उनले आवश्यक परे आफुहरुको आस्थाको धरोहर जोगाउन संघर्ष समिति बनाएर परामर्श गर्न समेत सुझाव दिइन् ।

बैठकमा वडा नं. ६ का वडा सदस्य वीरेन्द्र चौधरीले थारुथारु जुधाउने षडयन्त्र भइरहेको आशंका व्यक्त गरे । चित्रसारी मन्दिरकै जग्गामा स्कुल बनेको छ उनले भने–‘स्कुलले त्यही जग्गामा सटर बनाएर व्यापार गरिरहेको छ । मन्दिरले एकपैसापनि पाउँदैन । स्कुल बनाउन, सभाहल बनाउने नाउँमा मन्दिरको जग्गा अतिक्रमण भइरहेको।’ गोठौलीका थारु समुदायले बरमथानको रुपमा त्यो ठाउँमा पुजागर्दै आएका थिए । अहिले सबैको साझा धार्मिक आस्थाको केन्द्र बनेको छ । मन्दिर संरक्षणमा सबैभन्दा बढी गौठौलीका थारुहरु जुट्नुपर्ने दायित्व हो । गंगा आरतीको नाउँमा केहीवर्षमा सबै जग्गा अतिक्रमणगर्ने योजना छ । गंगा आरती र थारुहरुको भोग चढ्ने एकै ठाउँमा हुँदैन ।

गंगा आरती छोटो समयका लागि गर्ने भनिएको थियो । छोटो समयका लागि मात्रै भए उप–समिति बनाएर गरे हुन्थ्यो । तर चित्रसेन बाबा मन्दिर व्यवस्थापन समिति बनाएर यसलाई बैधानिकता दिने बाटोमा समिति जुटेको छ । वडा कार्यालयवाट गंगा आरती अक्षयकोष स्थापनाका लागि शिव पुराण महायज्ञ तथा महायज्ञमा दानचन्दा भेटी संकलन सहित सातदिने शिवपुराण महायज्ञगर्नका लागि सिफारिस समेत बनाए । सोही सिफारिस बमोजिम नगरपालिकाले पनि आरती संचालनका लागि अनुमति दिएको छ ।

समितिले धार्मिक कार्यक्रम तथा गतिविधिका लागि समितिलाई दर्ता गरेर स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारवाट बजेट ल्याएर सो क्षेत्रमा थप संचरना बनाउने भित्री योजना छ । समितिले भित्र देखिनै चित्रसारी मन्दिरको विकास चाहन्छ भने चित्रसेन बाबाकै मन्दिर बनाउन किन चासो दिँदैन बैठकमा सहभागि भएकाहरुले प्रश्न गरेका थिए ।

स्थानीय युवा धनराज महतोले आरती व्यवस्थापन समितिको गतिविधिले आफुहरु सशंकित भएको बताए । वडा अध्यक्षलाई समेत झुक्याएर सिफारिस लगेका उनले शंका व्यक्त गरे । चित्रसेन बाबाकै नाउँबाट चितवनको नाम रहन गएको दरिलो इतिहास हामीसँग छ उनले भने–‘यसको पहिचान मेटाउन सक्ने डरलाग्दो प्लान छ भन्ने हामीले बुझेका छौं ।’

थारु कल्याणकारिणी जिल्ला सचिव सन्तकुमार चौधरीले यो चित्रसारी मन्दिर क्षेत्रमा भइरहेका पछिल्लो गतिविधिलाई धार्मिक अतिक्रमणको रुपमा व्याख्या गरे । चित्रसारी मन्दिर क्षेत्रमा गंगा आरती संचालनगर्ने अभियान तत्काल रोकिनुपर्ने बताए । यो अभियान नरोकिए थप संघर्षका कार्यक्रमगर्न थारु कल्याणकारिणी सभा पछि नहट्ने स्पष्ट पारे ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा क्षेत्र नं. ६ का क्षेत्रीय सभापति राधा महतो, थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सल्लाहकार लक्ष्मी चौधरी, कोषाध्यक्ष सविता चौधरी लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रम थारु कल्याणकारिणी सभा क्षेत्र नं. ८ का क्षेत्रीय सभापति रामेश्वर महतोको अध्यक्षतामा आयोजना गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>