पत्रपत्रिका

मनसुन सुरु भएयता विपतबाट ५७ जनाको मृत्यु

Banner

काठमाडौं, असार २१-

मनसुन सुरु भएयता विभिन्न भूभागमा बाढी, पहिरो, भारी वर्षा, चट्याङ, सर्पदंश, जनावर आक्रमणलगायत विपतबाट ५७ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । यस वर्षको मनसुन जेठ २८ गते नेपाल भित्रिएको हो । त्यसयता एक सय जना घाइते र एक हजार २३ घरपरिवार प्रभावित बन्न पुगेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा छ, २० करोड ७३ लाख बराबरको अनुमानित आर्थिक क्षति भएको छ । अबको केही दिन मनसुनी प्रभाव पूर्वदेखि सुदूरपश्चिमसम्म अझ बढ्ने सम्भावना छ । विगत २४ घण्टामा मात्र देशका विभिन्न भूभागमा २९ वटा पहिरो गएको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले अबको केही दिन मध्य तथा सुदूरपश्चिसम्मको भूभागमा मुसलधारेसम्म वर्षा हुने पूर्वानुमान गरेसँगै बाढी पहिरोसहितका विपत्को जोखिम थप उच्च बनेको छ । मौसमविद् सञ्जीव अधिकारीका अनुसार मौसममा सुधार हुने अवस्था छैन ।

पूर्वबाट पश्चिम केन्द्रित

विभागले बिहीबार जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्व र मध्य भूभागमा बढी वर्षा भएको छ । केही दिन पश्चिम, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने छ । मौसमविद् अधिकारीले भन्नुभयो, “गण्डकी, कर्णाली र सुदूरपश्चिममा निकै ठुलो वर्षा हुने देखिएको छ, जसले विपत् नल्याउला भन्न सकिन्न ।” मनसुनको न्यूनचापीय रेखा उत्तरबाट सर्दै नेपालको दक्षिण सीमा आसपास अझै केही दिन रहने छ । जसका कारण मनसुनको सक्रियता पश्चिमी भेगमा बढ्ने भएकाले सरोकारवाला निकायलाई सतर्क रहन भनिएको छ ।

पहिरो जाने खतरा उच्च

गण्डकी प्रदेशदेखि सुदूरपश्चिम भूगोलको नेपालका पहाड गत वर्ष लगातार गएका ठुलासाना भूकम्पले थिलथिलो बनेको छ । मनसुनको परिवर्तित खण्डित वर्षाले ती पहाडहरूमा पहिरो जाने उच्च खतरा रहेको पहिरोविज्ञ शिवकुमार बाँस्कोटाले बताए ।

पूर्व, मध्य र पश्चिम पहाडमा धेरै मानव बस्ती रहेकाले पहिरोले जनधनको क्षति गर्ने उच्च सम्भावना रहेको उहाँले बताउनुभयो । त्यसमाथि भौतिक पूर्वाधार र सडक निर्माणले थप गिजोलेकाले यो वर्षामा अझ असुरक्षित बनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>