Breaking News
भरतपुर महानगरले गेष्टहाउस चौरमा नेपाल र नेदरल्याण्डको खेल देखाउने

चितवन, जेठ २२–
भरतपुर महानगरपालिकाले गेष्टहाउस टि–२० विश्वकप अन्तरगत नेपाल र नेदरल्याण्डबीचको खेल देखाउने भएको छ ।
जिल्ला प्रहरी कार्यालय अगाडिको गेष्टहाउस चौरमा विश्वकप खेल देखाउने व्यवस्था मिलाईएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिइन् । नेपाल र नेदरल्याण्डबीचको खेल आज साँझ ९ः१५ बजे सुरु हुँदैछ ।
उनका अनुसार नेपाल र नेदरल्याण्डबीचको खेल १० बाई २८ फिटको डिसप्लेमा देखाइने छ । टि–२० विश्वकप क्रिकेटको नवौँ संस्करणको खेलहरु संयुक्त राज्य अमेरिका र वेष्टइण्डिजमा जारी छ । समूह ‘डी’ मा रहेको नेपाल आज पहिलो खेल खेल्न लागेको हो । नेपालको समूहमा नेदरल्याण्डसंगै दक्षिण अफ्रिका, श्रीलंका र बंगलादेश रहेका छन् । समूहको शीर्ष दुई टिम सुपर ८ मा प्रवेश गर्नेछ ।
नेपाल सन् २०१४ पछि टि–२० विश्वकप खेल्न लागेको हो । क्रिकेटप्रेमी दर्शकलाई सहज तरिकाबाट खेल देखाउन सकियोस् भन्ने उद्देश्यले ठुलो डिसप्लेको व्यवस्था गरिएको महानगरले जनाएको छ ।
भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण भइरहेकाले यहाँ क्रिकेटको गतिविधि र महोल वृद्धि हुँदै गइरहेको छ । सन् २०२७ मा हुने यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको यसै मैदानमा खेलाउने क्यानको तयारी पनि छ ।