तनहुँ

महिलालाई ढाकाको कपडा बुन्न सिकाउँदै बन्दीपुर गाउँपालिका

०
Banner

दमौली (तनहुँ), जेठ १४-

तनहुँको बन्दीपुरका महिलालाई व्यावसायिक बनाउन ढाकाको कपडा बुनाइसम्बन्धी तालिम प्रदान गरिएको छ । गाउँपालिकाद्वारा गरिबी निवारणका लागि उद्यम विकास कार्यक्रममार्फत महिलालाई ढाकाको कपडा बुन्ने तालिम प्रदान गरेको हो ।

महिलालाई व्यावसायिक बनाउँदै आयआर्जनसँग जोड्ने दुईमहिने ढाकाको कपडा बुनाइ तालिम सुरु गरिएको छ । गाउँपालिकाले महिलाको जीवनस्तर उकास्न विभिन्न सीप प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गत स्थानीय तहको निर्वाचनमा हामी निर्वाचित भएर आएपछि यहाँका महिलालाई लक्षित गरी विभिन्न प्रकारका सीपमूलक तालिम सञ्चालन हुँदै आएको छ, ढाकाको कपडा बुनाइ पनि सोहीअन्तर्गतको हो ।”

महिला दक्ष बन्नुपर्ने जनाउँदै गुरुङले दक्ष भए अरुको भरपर्न नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महिलालाई आत्मनिर्भर बनाउन उहाँहरुकै रुचि र मागअनुसारका तालिम सञ्चालन गर्छौं, आइतबारदेखि ढाकाको कपडा बुन्ने तालिम सुरु भएको छ ।”

तालिमका क्रममा ढाकाको धागोमार्फत टोपी, सल, पछ्यौरा, हाते झोला र खादाजस्ता सामग्री उत्पादन गर्न सिकाइनेछ । सहभागीलाई चार तानमार्फत ढाकाका विभिन्न सामान उत्पादन गर्नका लागि प्रशिक्षण दिइएको उद्यम विकास सहजकर्ता टीका आलेमगरले बताउनुभयो । तालिममा सात महिलाको सहभागिता छ ।

गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले तालिमका नाममा तालिम दिने मात्र नभई प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “तालिमलाई व्यावहारिकरुपमा उतार्न सकिए आत्मनिर्भर बन्न सकिन्छ, त्यसतर्फ ध्यान दिनुहोला, तालिम लिइसकेपछि पनि त्यस्ता महिलालाई के सहयोग गर्न सकिन्छ हामी गर्छाै।” रासस/फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>