खेलकुद

भरतपुर इमर्जिङ कप टी–२०ः उपाधिका लागि हिमावारी वारियर्स र स्नो ह्वाइट ग्लाडिएटर्स भिड्ने

Banner

चितवन, जेठ १२–

भरतपुर इमर्जिङ कप टी–२० कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि हिमावारी वारियर्स र स्नो ह्वाइट ग्लाडिएटर्स भिड्ने भएका छन् ।

भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी प्रतियोगितामा शीर्ष स्थानमा रहँदै स्नो ह्वाइट ग्लाडिएटर्स र दोस्रो स्थानमा रहँदै हिमावारी वारियर्सले उपाधि भिडन्त पक्का गरेको हो । चार टिम सहभागि प्रतियोगितामा सबै टिमले समान ३ खेल खेलेका थिए । जसमा शीर्ष दुई टिम फाइनलमा प्रवेश गरेको हो । समान एक–एक खेल जितेका राइट राइडर्स र फ्लाई यु फाइटर्स प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगिताको उपाधि भिडन्त भोलि आइतबार दिउँसो १ बजेदेखि हुनेछ ।

लिग चरणको अन्तिम खेलमा आज हिमावारीले राइट राइडर्सलाई १९ रनले पराजित गर्‍यो । ९१ रनको झिनो लक्ष्य पछ्याएको राइट राइडर्स १९.१ ओभरमा ७१ रनमै अलआउट भएपछि हिमावारी १९ रनले जित निकाल्दै फाइनल यात्रा तय गरेको हो । राइट राइडर्सका लागि विवेक कँडेलले सर्वाधिक १६ र विशाल खत्रीले ११ रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । हिमावारीका लागि सौरभ आचार्य र मनिष पुनले समान दुइ–दुइ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको हिमावारी ९० रनमा अलआउट भएको थियो । उसका लागि मनिष पुनले ३४ र कृष्ण घिमिरेले १६ रन बनाए । राइट राइडर्सका लागि पवन सापकोटाले १६ रन खर्चिदै ३ विकेट लिए भने विशाल खत्रीले २ विकेट लिए । खेलमा हिमावारीका मनिष पुन प्लेयर अफ दि म्याच घोषित भए ।

यसैगरि आजै भएको दोस्रो खेलमा स्नो ह्वाइट ग्लाडिएटर्स ६ रनले विजयी भयो । १३५ रनको लक्ष्य पछ्याएको फ्लाई यु फाइटर्स ५ विकेटको क्षतिमा १२९ रन मात्रै बनाउन सकेपछि स्नो ह्वाइट ग्लाडिएटर्सले रोमाञ्चक जित हात पारेको हो ।

फ्लाई यु फाइटर्सका लागि ओपनर निसभ तिमिल्सिनाले १४ बलमा ३० रनको विष्फोटक पारी खेले पनि टिमलाई जिताउन सकेनन् । फाइटर्सले पहिलो विकेटका लागि ५ ओभरमा ५१ रन बनाएको थियो । मध्यक्रम र तल्लो क्रमका ब्याटरले राम्रो गर्न नसकेपछि पराजित हुन पुग्यो । अल्सोन पौडेलले २३ रन बनाए ।

स्नो ह्वाइट ग्लाडिएटर्सका लागि रुपेश क्षेत्रीले ४ ओभरमा मात्र १३ रन खर्चिदै एक विकेट लिए भने अश्विन थापाले २३ रन खर्चिएर एक विकेट लिए
यसअघि पहिले ब्याटिङ गरेको स्नो ह्वाइट ग्लाडिएटर्स ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । उसका लागि आदर्श दुलालले २८, आयुष गिरीले २९ रन बनाए ।

फ्लाई यु फाइटर्सका लागि अनुज अधिकारीले ४ ओभरमा मात्र १५ रन खर्चिदै ५ विकेट लिए भने सन्देश सुवेदीले एक विकेट लिए ।
खेलमा अश्विन थापा प्लेयर अफ दि म्याच घोषित भए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>