चितवन विशेष

भरतपुर मेयर कपः स्कूल र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान

Banner

भरतपुर,बैशाख २६-

भरतपुर महानगरपालिकामा वैशाख २८ गतेबाट सुरु हुने अन्तरविद्यालय मेयर कप फुटबल लिगमा सहभागि हुने स्कूल र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान गरिएको छ । बुधबार भरतपुर महानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम मार्फत भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र मुख्य प्रायोजक संस्था सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलास (वाइबी) पौडेलले संयुक्त रुपमा सहभागि स्कूलका प्रतिनिधि र प्रशिक्षकलाई खेलकुद सामाग्री प्रदान गर्नुभयो ।

सो अवसरमा बोल्दै महानगर प्रमुख रेनु दाहालले दैनिक भइरहेका खेलकुद प्रतियोगिताले भरतपुर खेलकुदको हब बन्दै गएको पुष्टि गरेको बताउनुभयो । उहाँले स्कूल स्तरबाट राष्ट्रिय खेलाडि उत्पादनका लागि भरतपुर मेयर कप फुटबल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

यस्तै सेन्ट्रल कलेजका प्रिन्सिपल पौडेलले सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकासका लागि निरन्तर सहयोग गरिरहेको भन्दै महानगरपालिकासंग सहकार्य गर्न पाउँदा थप उत्साहित भएको बताउनुभयो । उहाँले स्कुलस्तरका खेलाडीलाई खेल्ने अवसर प्रदान गर्नका लागि लिग आयोजना गरिएकोले यसमा आफ्नो संस्था जोडिएको बताउनुभयो । फुटबलमा स्कुल स्तरदेखि नै खेलाडीलाई अवसर दिन सके भविष्यमा राम्रो नतिजा आउन सक्ने उहाँको भनाइ थियो ।

महानगगरपालिकाको आयोजना र सेन्ट्रल कलेजको मुख्य प्रायोजनमा हुने मेयर कप अन्तर विद्यालय फुटबल लिगको सह–आयोजक तथा प्राविधिक सहयोगी संस्थाको रुपमा चितवन जिल्ला फुटबल संघ रहेको छ । लिगमा भरतपुर महानगरपालिका भित्रका २४ विद्यालय सहभागी छन् । जसमा सामुदायिक र संस्थागतबाट समान १२÷१२ विद्यालय रहेका छन् ।

सहभागी २४ विद्यालयलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहमा दुई सामुदायिक र दुई संस्थागत विद्यालयलाई राखिएको छ । सबै समूहका टिमले होम एण्ड अवेका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । ६ समूहबाट समूह विजेता मध्ये उत्कृष्ट चार विद्यालय सिधै क्वाटरफाइनल प्रवेश गर्ने चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकालले जानकारी दिनुभयो ।

बाँकी २ समूह विजेता र ६ समूह उपविजेता गरी ८ टोली प्रिक्वाटरफाइनल प्रवेश गर्नेछ । लिगको उद्घाटन वैशाख २८ गते भरतपुर–७ कृष्णपुरको मिनी रंगशालामा हुनेछ । उद्घाटन खेलमा दिउँसो ४ः३० बजे समूह ए मा रहेका स्टेप बाई स्टेप इङ्ग्लिश बोर्डिङ स्कुल र ओम शान्ति एकेडेमी भिड्नेछन् ।

कृष्णपुरसँगै भरतपुर–१९ स्थित शारदानगर मावि शारदानगर र भरतपुर २४ पटिहानीस्थित अमर माविको मैदानमा खेलहरु हुनेछन् । तीन सातासम्म चल्ने लिगको फाइनल खेल जेठ १९ गते हुनेछ ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले ग्रासरुटदेखि नै फुटबल बिकासका लागि यो लिग महत्वपूर्ण कदम हुने बताउनुभयो । होम एण्ड अवेको आधारमा नेपालमा नै पहिलो पटक यस किसिमको स्कुल लिग आयोजना गरिएको उहाँको भनाई थियो ।
यसैबीच सोही कार्यक्रममार्फत् मेयर कप फुटबल प्रतियोगिताको लोगो समेत सार्वजनिक गरिएको छ । लिगमा सहभागी हुने १२ सामुदायिक विद्यालयका लागि १२ जना प्रशिक्षक समेत नियुक्त गरिएको छ । नियुक्त भएका प्रशिक्षकले आइतबारबाट नै आफ्नो जिम्मेवारी सम्हालेको खेल संयोजक एवम् चितवन जिल्ला फुटबल संघका वरिष्ठ उपाध्यक्ष विजय घलेले बताउनुभयो । नियुक्त भएका प्रशिक्षकलाई महानगरले नै सेवा सुविधा उपलब्ध गराउनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>