समाचार

सार्वजनिक तथा नीजि सम्पत्तिमा क्षति पुर्‍याए क्षतिपूर्ति तिर्नुपर्ने कार्यविधि स्वीकृत

Banner

काठमाडौँ, वैशाख १७-

सरकारले सार्वजनिक तथा नीजि सम्पत्तिमा क्षति तथा नोक्सान पुर्‍याए क्षतिपूर्ति भराउने भएको छ । विभिन्न आन्दोलन र विरोध प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिको तोडफोड तथा आगजनी गरी क्षति पुर्‍याएमा आन्दोलनकारीबाटै क्षतिपूर्ति भराउनेसम्बन्धीको कार्यविधि स्वीकृत भएको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आइतबार सार्वजनिक प्रदर्शन, हडताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्याङ्कनसम्बन्धी कार्यविधि स्वीकृत गरेका हुन् ।

नेपालको संविधानले हरेक व्यक्ति वा समूहलाई स्वतन्त्र रूपमा विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा शान्तिपूर्वक रूपमा भेला हुन पाउने व्यवस्था गरेको छ । राजनीतिक भेला, जुलुस वा विरोध प्रदर्शनका बेला हुने यस्ता हकको सुनिश्चितता गर्दै सरकारले सरकारी सार्वजनिक एवं व्यक्तिगत सम्पत्तिमा हुने हानिनोक्सानीलाई न्यूनीकरण र निरुत्साहित गर्न यस्तो कार्यविधि ल्याएको जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रदर्शन तथा आन्दोलनका क्रममा हुने सार्वजनिक सम्पत्ति क्षतिको मूल्याङ्कन प्रमुख जिल्ला अधिकारीको संयोजकत्व हुने र सोही आधारमा नोक्सान पुर्‍याउनेबाट नै क्षतिपूर्ति भराइने कार्यविधिमा उल्लेख गरिएको बताए ।

सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली–२०६५, को नियम ९ मा क्षतिको यथार्थ लेखाजोखा र मूल्याङ्कन गरी त्यसको परिपूरण गर्नसमेत आवश्यक भएकाले कार्यविधि जारी गरेको उल्लेख गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>