Breaking News

साहारा सहकारीको सफ्टवेयर चितवन प्रहरीको नियन्त्रणमा, सीआईबीको सहयोगमा अनुसन्धान गरिने

Banner

चितवन, चैत २९-

जिल्ला प्रहरी कार्यालय चितवनले साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको हिसाब राख्ने सफ्टवेयर नियन्त्रणमा लिएको छ ।

सहकारीका निक्षेपकर्ताहरुको उजुरीको आधारमा सफ्टवेयर नियन्त्रणमा लिएर प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबीको) सहयोगमा अनुसन्धान सुरु गर्न लागेको हो ।

चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीले सीआईबीको सहयोगमा सफ्टवेयरमा गरिएको हिसाबकिताबको बारेमा अनुसन्धानको काम सुरु गरिने नारायणी अनलाइनलाई बताए । उनले सफ्टवेयरको हिसाबलाई प्रमाणित गर्न लेखा परीक्षकमार्फत् सहकारीको हिसाब प्रहरीले गरिरहेको जानकारी दिए । सबै हिसाबकिताब बारे अनुसन्धान सकिएपछि तथ्य बाहिर आउने उनले बताए । सहारा सहकारीका सञ्चालकहरु भने फरार रहेको उनले बताए ।

चितवन प्रहरीले गत माघमा १५ दिने सूचना जारी गरेर सहकारीको बारेमा पीडितहरुले उजुरी दिन अनुरोध गरेको थियो । भरतपुर महानगरपालिका–३ लायन्सचोकमा केन्द्रीय कार्यालय रहेको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयका पदाधिकारी, सेवा केन्द्र टाँडी र पर्सा शाखाका संस्थापक अध्यक्ष, कार्य समितिका पदाधिकारी र व्यवस्थापकसमेतले सहकारीमा आवद्द रहेका निक्षेपकर्ताहरुले रकम ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले सहकारीका पदाधिकारी तथा व्यवस्थापक विरुद्धको ठगी कसुरमा अनुसन्धान गरिरहेको छ ।

सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबाबु राई (जीबी) बचतकर्ताको ८५ करोड रकम हिनामिना गरी फरार भएका छन् । उक्त सहकारीबाट राईले अर्को संस्थालाई ४१ करोड रूपैयाँ बिनाधितो ऋण दिएको भेटिएको छ । उनी आफैंले एक करोड ७३ लाख चार हजार ६९१ रूपैयाँ गैरकानुनी रुपमा झिकेका छन् । जीवी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रूपैयाँ सहकारीबाट लगेको देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यो सबै हिसाब ठिक छ वा छैन भनेर परीक्षण गर्न पनि सफ्टवेयर र लेखापरीक्षकमार्फत् अध्ययन गर्न आवश्यक देखिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>