Breaking News

वायु प्रदूषणले भरतपुर अस्पतालमा बिरामीको चाप ३५ प्रतिशतले बढ्यो

Banner

निरुता बि.क

चितवन, चैत २९-

देशभर बढेको वायु प्रदूषणले भरतपुर अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ ।

प्रदूषणले श्वासप्रश्वासमा समस्या, रुघा, खोकी, आँखा, नाक पोल्ने समस्या लिएर आउने बिरामीको संख्या ३० देखि ३५ प्रतिशतले बढेको हो ।

भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले पछिल्लो समय यता अस्पतालमा श्वासप्रश्वासमा समस्या, रुघा, खोकी, आँखा, नाक पोल्ने समस्या लिएर आउने बिरामीको संख्या बढेको बताए । उनले भने, ‘पछिल्लो पाँच दिन यता अस्पतालमा आउने बिरामीको संख्या ३० देखि ३५ प्रतिशतले बढेको छ । वायु प्रदूषणका कारण अस्पतालमाआउने बिरामीको संख्या बढेको हो ।’ उनका अनुसार वायु प्रदूषणले स्वास्थ्यमा तत्काल र दीर्घकालीन रूपमा असर गरिरहेको हुन्छ । हावामा प्रदूषणको मात्रा बढी हुँदा रुघाखोकी लाग्ने, आँखा पोल्ने, चिलाउने, आँखामा संक्रमण हुने, छालामा एलर्जी हुने, श्वासप्रश्वासमा संक्रमण हुने जस्ता समस्या देखिने सूचना अधिकारी पौडेलले जानकारी दिए ।

अस्पतालका बरिष्ठ फिजिसियन डा गोविन्द कँडेलले वायु प्रदूषणका कारण पूराना दीर्घरोगी जसलाई पहिलै देखि दम, सीओपीडी, मुटुको रोगी, मधुमेह, प्यारालाइसिस भएका बिरामीको समस्या झन् बल्झिएर अस्पताल परिक्षण गर्न आउने संख्या बढेको बताए । उनले अस्पतालमा श्वासप्रश्वासमा समस्या, रुघाखोकी, आँखा नाक पोल्ने समस्या लिएर आउनेको संख्या पनि बढेको जानकारी दिए । वायु प्रदूषणबाट सुरक्षित रहनकोे लागि घरबाट बाहिर ननिस्कने, निस्कनै परे मास्क र चस्माको प्रयोग गर्ने, बारम्बार सफा पानीले आँखा सफा गर्नुपर्ने उनको सुझाव छ ।

कमलनगर नारायणगढकी सरस्वती देवीले केही दिनयता वायु प्रदूषणका कारण घर बाहिर निस्कँदा आँखा पोल्ने, चिलाउने, टाउँको दुख्ने समस्या भएर अस्पताल परीक्षण गर्न आएको बताइन् । उनले भनिन्, ‘अहिलेको रुघाखोकी, आँखा पोल्ने चिलाउने, टाउँको दुख्ने समस्या फरक छ । पहिलेको रुघाखोकी सामान्य औषधि खाएर निको हुन्थो भने अहिलेको आँखा पोल्ने चिलाउने, टाउँको दुख्ने समस्या लामो समयसम्म निको हुँदैन। निको नभएर अस्पतालमा आएर जाँच गर्नु परेको छ ।’

भरतपुर–२० चनौलीका शंकर आचार्य बिगत तीन दिनदेखि टाउँको, छाती दुख्ने, रुघा लागेर अस्पताल परीक्षण गर्न आएको बताए । उनले अहिले मौसम खराबीका कारण यस्तो समस्या देखिएको बताएका छन् । घर छिमेकमा पनि आफूलाई जस्तै टाउँको, छाती दुख्ने, रुघाखोकीको समस्या देखिएको उनको भनाइ छ ।

यस्तै भरतपुर महानगरपालिका–५ घर भएकी देवकी गौतमले पनि पछिल्लो चार पाँच दिनयता आँखा हेर्न समस्या भएको, आँखा पोल्ने, छाती पोल्ने, रुघाखोकी लागेर अस्पतालमा चेकजाँच गर्न आएको बताएकी छन् । उनले वायु प्रदूषणका कारण यस्तो समस्या देखिएको बताइन् । पछिल्लो केही दिनदेखि बढेको वायु प्रदूषणले नागरिकमा गम्भीर स्वास्थ्य समस्या निम्त्याउने भएकोले सावधानी अपनाउन भरतपुर अस्पतालका चिकित्सकहरुले सजग गराएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>