Breaking News

पौडीमा बागमतीले पहिलो दिनमै जित्यो १० स्वर्णसहित २५ पदक

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः

Banner

चितवन, चैत २६–

चितवनको भरतपुरमा आजदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेलहरु सुरु भएका छन् ।

प्रतियोगिताको पौडी स्पर्धाको खेल लेक ट्वान्टी थाउजण्ट हवेलीमा सुरु भएको छ । पौडीतर्फ भएका खेलहरुमा बागमती प्रदेशले १० स्वर्ण, १० रजत र ५ काश्यसहित २५ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले ४ स्वर्ण, २ रजत, १ काश्य सहित ७ पदक हात पारेको छ । कोशी प्रदेशले २ रजत र ७ काश्य सहित ९ पदक जितेको छ भने लुम्बिनी प्रदेशले १ काश्य पदक जितेको छ । प्रतियोगिता अन्तरगत भोलि कुल १७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

बागमतीका लागि आर्या महर्जन एक्लैले ३ स्वर्ण जिताइन् । यस्तै मेगन गुरुङ, सेरेन सिंह, रोयल प्रजापति, अजल काजी ताम्राकार, जदेन श्रेष्ठ, दिपंकर अवले र टिमतर्फ अनुभव सुब्बा, दिपंकर अवले, अजलकाजी ताम्राकार र इर्भिन श्रेष्ठको टिमले स्वर्ण दिलाए ।

यसैगरि सुदूरपश्चिम प्रदेशका लागि अथर्व सिंह एक्लैले ३ स्वर्ण जिते भने रितिका भूमिले एक स्वर्ण जिताइन् ।
पहिलो दिन कुल १४ वटा इभेन्ट सम्पन्न भएका छन् ।

यसैबीच आजबाट तेक्वान्दो, कराते र बक्सिङका खेलहरु भरतपुर–१०, स्थित औद्योगिक प्रदर्शनी केन्द्रको हलमा सुरु भएका छन् । तेक्वान्दोतर्फ पुम्से विधा (कला प्रदर्शनी) सकिएर फाइट चरणका खेलहरु भइरहेका छन् । बक्सिङतर्फ सबै तौल समूहका क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । बक्सिङमा १८ विधाका खेलहरु भइरहेका छन् । करातेतर्फ काता विधा सकिएको छ भने कुमुते अर्थात् फाइट चरणका खेलहरु सुरु भएका छन् । चित्रवन रंगशालामा एथलेटिक्सका विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् भने पुरुष तथा महिला भलिबल भरतपुर–१०, स्थित गेष्टहाउस चौर जारी छ । भलिबलमा आज लिग चरणका खेलहरु भएका छन् ।

ब्याडमिन्टन भरतपुर कवर्डहल र महिला फुटबल बखान स्मृति रंगशाला भरतपुरमा सुरु भएको छ । पुरुष फुटबल हेटौंडास्थित गौरीटार रंगशालामा सुरु भएको छ । महिला क्रिकेट भने शनिबारदेखि नै भरतपुर–१५, स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी छ । महिला क्रिकेटको फाइनल प्रतिष्पर्धा भोलि हुँदैछ । पुरुष क्रिकेट २८ गतेदेखि हुनेछ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>