Breaking News

पौडीमा बागमतीले पहिलो दिनमै जित्यो १० स्वर्णसहित २५ पदक

अन्तर प्रदेश राष्ट्रिय खेलकुदः

०
Banner

चितवन, चैत २६–

चितवनको भरतपुरमा आजदेखि प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका विभिन्न खेलहरु सुरु भएका छन् ।

प्रतियोगिताको पौडी स्पर्धाको खेल लेक ट्वान्टी थाउजण्ट हवेलीमा सुरु भएको छ । पौडीतर्फ भएका खेलहरुमा बागमती प्रदेशले १० स्वर्ण, १० रजत र ५ काश्यसहित २५ पदक जितेको छ । सुदूरपश्चिम प्रदेशले ४ स्वर्ण, २ रजत, १ काश्य सहित ७ पदक हात पारेको छ । कोशी प्रदेशले २ रजत र ७ काश्य सहित ९ पदक जितेको छ भने लुम्बिनी प्रदेशले १ काश्य पदक जितेको छ । प्रतियोगिता अन्तरगत भोलि कुल १७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

बागमतीका लागि आर्या महर्जन एक्लैले ३ स्वर्ण जिताइन् । यस्तै मेगन गुरुङ, सेरेन सिंह, रोयल प्रजापति, अजल काजी ताम्राकार, जदेन श्रेष्ठ, दिपंकर अवले र टिमतर्फ अनुभव सुब्बा, दिपंकर अवले, अजलकाजी ताम्राकार र इर्भिन श्रेष्ठको टिमले स्वर्ण दिलाए ।

यसैगरि सुदूरपश्चिम प्रदेशका लागि अथर्व सिंह एक्लैले ३ स्वर्ण जिते भने रितिका भूमिले एक स्वर्ण जिताइन् ।
पहिलो दिन कुल १४ वटा इभेन्ट सम्पन्न भएका छन् ।

यसैबीच आजबाट तेक्वान्दो, कराते र बक्सिङका खेलहरु भरतपुर–१०, स्थित औद्योगिक प्रदर्शनी केन्द्रको हलमा सुरु भएका छन् । तेक्वान्दोतर्फ पुम्से विधा (कला प्रदर्शनी) सकिएर फाइट चरणका खेलहरु भइरहेका छन् । बक्सिङतर्फ सबै तौल समूहका क्वाटरफाइनल खेलहरु सम्पन्न भएका छन् । बक्सिङमा १८ विधाका खेलहरु भइरहेका छन् । करातेतर्फ काता विधा सकिएको छ भने कुमुते अर्थात् फाइट चरणका खेलहरु सुरु भएका छन् । चित्रवन रंगशालामा एथलेटिक्सका विभिन्न विधाका खेलहरु सम्पन्न भएका छन् भने पुरुष तथा महिला भलिबल भरतपुर–१०, स्थित गेष्टहाउस चौर जारी छ । भलिबलमा आज लिग चरणका खेलहरु भएका छन् ।

ब्याडमिन्टन भरतपुर कवर्डहल र महिला फुटबल बखान स्मृति रंगशाला भरतपुरमा सुरु भएको छ । पुरुष फुटबल हेटौंडास्थित गौरीटार रंगशालामा सुरु भएको छ । महिला क्रिकेट भने शनिबारदेखि नै भरतपुर–१५, स्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा जारी छ । महिला क्रिकेटको फाइनल प्रतिष्पर्धा भोलि हुँदैछ । पुरुष क्रिकेट २८ गतेदेखि हुनेछ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिताको आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालले समुद्घाटन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>