देश/प्रदेश

महिलालाई आत्मनिर्भर बनाउँदै सहकारी

Banner

तनहुँ, चैत २२-

शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारको खैरेनीटार महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिलालाई आत्मनिर्भर बनाउने नीतिसहित कार्यक्रमलाई अगाडि बढाएको छ ।

सहकारीले नगरपालिका क्षेत्रभित्रका महिलालाई सहकारीमा आबद्ध गरी उनीहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई जोड दिएको हो । सहकारीले शेयर सदस्यलाई स्वरोजगार र उद्यमशील बनाउन विभिन्न खालका तालिम सञ्चालन गरिएको सहकारीका अध्यक्ष सुशीला गुरुङले जानकारी दिनुभयो । सहकारीले सदस्यहरूका लागि अकबरे खुर्सानी, मौसमी तथा बेमौसमी तरकारीखेती, पशुपालन, कुखुरापालन, बेसार तथा अदुवाखेती, सिलाइबुनाई तालिम सञ्चालन गरी स्वरोजगार बनाएको उहाँको भनाइ छ ।

गुरुङले सहकारी संस्थाको ३४ वटा इकाइका सदस्यलाई तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सदस्यहरूले उत्पादन गरेको कृषि उपज सामग्री बजारीकरणका लागि सहकारी संस्थाले सहयोग गरिरहेको छ ।”

यस्तै सहकारीले शुक्लागण्डकी नगरपालिका–२ का सदस्यलाई बाख्रापालन व्यवसाय विकास गर्न दुईवटा उन्नत जातका बोका अनुदानको रूपमा सहयोग गरेको छ । सहकारीले अकबरे खुर्सानी विकास गर्नका लागि वडा नं ६ का सदस्यलाई बीउ वितरण गरेको छ । त्यस्तै कालीभञ्ज्याङ क्षेत्रमा नेट जाली, प्लाष्टिक टनेल प्रदान गरिएको छ ।

सहकारी संस्थाले सदस्यहरूको उद्यमशील वृद्धि गर्नका लागि वडा नं २ मा बेसार उत्पादन वृद्धिका लागि बीउ वितरण गरेको अध्यक्ष गुरुङले बताउनुभयो । उहाँका अनुसार एक सय २० जना शेयर सदस्यलाई खाना पकाउने विद्युतीय चुलो प्रदान गरिएको छ ।

विसं २०५९ जेठ ७ गते स्थापना भएको सहकारी संस्थामा हाल दुई हजार सात जना शेयर सदस्य आबद्ध छन् । सहकारी संस्थामा रु चार करोड ३२ लाख ६४ हजार शेयर पुँजी रहेको छ । बचत रु १८ करोड ५० लाख ३२ हजार एक सय ७१ रहेको सहकारीमा जगेडा कोष रु एक करोड १३ लाख ६९ हजार रहेको सहकारी संस्थाका व्यवस्थापक लक्ष्मी श्रेष्ठले जानकारी दिनुभयो ।

सहकारी संस्थाले आफ्नै भवनबाट सेवा प्रवाह गर्दै आएको छ । सहकारी संस्थाले रु ५० लाखमा जग्गा खरिद गरी भवन निर्माण गरेको हो । संस्थाको भवन निर्माण योङ लिभिङ फाउण्डेसनले गरिदिएको थियो । सहकारी संस्थामा हाल पाँच जना कर्मचारी छन् । सहकारीले चालु आर्थिक वर्षमा तीन हजार दुई सय शेयर सदस्य वृद्धि गर्ने, शुक्लागण्डकी नगरपालिकासँग समन्वय गरी सदस्यहरूले उत्पादन गरेका कृषि सामग्री बिक्रीका लागि हाटबजार सञ्चालन गर्ने योजना बनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>