चितवन विशेष

चितवनमा चैत २६ बाट सुरु हुने बिक्रम बाबा मेला स्थलको महानगरपालिकाद्वारा अवलोकन

Banner

चितवन, चैत १९–

भरतपुर महानगरपालिकाले रामनवमी पर्व (बिक्रमबाबा मेला) लाग्ने स्थानको स्थलगत अवलोकन तथा निरीक्षण गरेको छ ।

यही चैत २६ गते देखि भरतपुर २३ जगतपुरमा सञ्चालन हुने बिक्रमबाबा मेलाको सोमबार भरतपुर महानगरपालिकाले अनुगमन गरेको हो ।
बिक्रमबाबा मेला–२०८० को सञ्चालन ब्यवस्थापन तथा व्यवसायिक क्रियाकलाप नियमनसम्बन्धी विषयमा अध्ययन गर्न गठित समितिले अनुगमन गरेको हो ।

समितिका संयोजक एवम् नगर उपप्रमुख चित्रसेन अधिकारीको नेतृत्वमा स्थलगत निरीक्षणमा गएको टोलीले मेलाको सञ्चालन ब्यवस्थापन तथा ब्यवसायिक क्रियाकलाप नियमनसम्बन्धी विषयमा अध्ययन गरेको छ । मेलालाई थप ब्यबस्थित गर्ने, अहिले मेला स्थलमा देखिएका समस्यालाई समाधान गर्ने, मेलालाई सफलतापूर्वक सम्पन्न गर्न सबैलाई आग्रह गर्ने लगायतका विषयहरुमा अनुगमन टोली केन्द्रित भएको छ । अनुगमन टोलीले सदियौं देखि विभिन्न संस्थाले सञ्चालन गर्दै आएको बिक्रमबाबा मेलालाई यस वर्षदेखि अन्य संघसस्थाको सहकार्यमा भरतपुर महानगरपालिकाले सञ्चालन गर्ने तयारी समेत गरेको छ ।

अनुगमनमा भरतपुर–२३ का अध्यक्ष दिपक दवाडी, भरतपुर महानगरका उपनिर्देशक जगन्नाथ अर्याल, चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारी, घैलाघारी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लिलाराज भुसाल, केरुङ्गा उपभोक्ता समितिका अध्यक्ष अर्जुन भुजेललगायतको सहभागिता रहेको थियोे ।

हरेक वर्ष चैते दसैँको समयमा बिक्रमबाबा मेला लाग्ने गर्छ । राप्ती पुलबाट करिब दुई किलोमिटर निकुञ्ज भित्र बिक्रमबाबाको दर्शन तथा पूजापाठ गर्ने गरिन्छ । यो पूजा विशेषगरी थारु जातिमा प्रचलनमा रहेको छ । बिक्रमबाबाको पूजा परापूर्व कालदेखि थारु जातिले गर्ने भए पनि पछिल्लो समय सबै समुदायले पूजा गर्ने गर्छन् । सन्तान प्राप्ति र सुखलगायत मनोकांङ्क्षा पूरा हुने विश्वासका साथ बिक्रमबाबाको पूजा गर्ने गरेको पाइन्छ ।

चैते दसैँमा हजारौं भक्तजनले विक्रम बाबा दर्शन गर्ने र पशुपंक्षी वली दिने प्रचलन रहिआएको छ । मेलामा चितवनसहित नवलपुर, नवलपरासी, तनहुँ, लम्जुङ्ग , गोर्खा, मकवानपुरलगायतका जिल्लाबाट दर्शनार्थी तथा भक्तजनहरु आउने गर्छन् । मेला वैशाख ११ सम्म सञ्चालन हुनेछ ।

यसैबीच नगर उपप्रमुख चित्रसेन अधिकारीको सयोजकत्वमा सात सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । यस्तै भरतपुर–२३ का अध्यक्ष दिपक दवाडीको संयोजकत्वमा सात सदस्यीय कार्यसम्पादन समिति पनि गठन गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>