Breaking News

चितवन ट्याक्सी दुर्घटना अपडेटः पौवा खेत गाउँ शोकमा, आजै सामूहिक दाहसंस्कार गरिँदै

Banner

चितवन, चैत १७-

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा आज बिहान भएको ट्याक्सी दुर्घटनामा पाँच जनाको मृत्यु भएपछि गोरखाको पौवा खेत गाउँ शोकमग्न बनेको छ ।

१४ घर रहेको रोकाहरुको दलित गाउँमा एक परिवारका ५ जनाको दुर्घटनामा मृत्यु भएपछि गाउँ शोकमग्न बनेको हो । मृतकको काजकिरिया गर्ने मानिस पनि खोज्नुपर्ने अवस्था आएको छ । बुबा शंकर रोकाको दाहसंस्कार गर्न काठमाडौँ आर्यघाट गएका उनीहरु काजकिरियाको लागि गाउँ फर्कन पनि पाएनन् । बाटोमा नै ज्यान गुमाउनुपर्‍यो  । सामान्य खेती किसानी गर्दै गुजारा गरेका दलितहरुको गाउँमा शोकमाथि शोक पर्‍यो । दाहसंस्कारको लागि आर्यघाट मलामी गएका गाउँलेहरु उल्टै पाँचवटा लाशसँगै गाउँ फर्किदा स्थानीय भावविव्हल बने ।
मृतकहरुको गोरखा अस्पतालमा पोष्टमार्टम गरेर आज साँझ दरौदी र मस्र्याङदीको दोभान राम शाह घाटमा सामूहिक दाहसंस्कार गरिने गोरखा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष विष्णुप्रसाद श्रेष्ठले नारायणी अनलाइनलाई बताए । दिनभर अस्पतालमा स्थानीय नागरिकहरुको ठूलो भीड लागेको उनले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘ मृतकहरुको किरियाको लागि दाजुभाइ खलकको मानिस खोज्नुपर्ने अवस्था आयो । घरमा बसेका बुहारी र एक नातिनी मात्र बाँच्न सफल भए ।’

क्यान्सर रोगको उपचारको क्रममा काठमाडौँमा बितेका शंकर रोकाको दाहसंस्कार पछि उनीहरु तीनवटा ट्याक्सी र एउटा माइक्रोमा काठमाडौँबाट गोरखा फर्कदै थिए । शुक्रबार राति दाहसंस्कारको काम सकेर परिवारको सदस्य करिब ११ बजे  गोरखा फर्किँदै गर्दा मुग्लिन नजिकै सो दुर्घटना भएको हो । शनिबार बिहान दुई गाडी मुग्लिन आइपुगेर केहीबेर कुर्दासम्म ट्याक्सी नआएपछि खोज्दै जाँदा मुग्लिन नजिकै डिभाइडर भाँचिएको देखेपछि त्रिशूलीमा हेर्दा ट्याक्सी खसेको भेटिएको थियो । ट्याक्सीमा सवार ६ मध्ये पाँच जना मृत भेटिए ।

दुर्घटनामा मृत्यु भएका पाँचै जना एउटै परिवारका थिए । दुर्घटनामा १८ वर्षीय दिवस रोकाय भने बेपत्ता छन् । चितवन प्रहरी प्रवक्ता श्रीराम भण्डारीका अनुसार उनको खोजीका लागि सशस्त्र प्रहरी बल कुरिटनटारबाट गोताखोरसहितको टोली खटिएको छ । चालकसमेत रहेका गोरखा नगरपालिका–७ का ३२ वर्षीय अर्जुन सिर्मल, ४१ वर्षीया हरिमाया रोका, ७० वर्षीया जुनकिरी रोका, २९ वर्षीया अन्जना रोका र ९ वर्षीय बालक आगमन उपरकोटीको निधन भएको छ । उनीहरू सबै एकै परिवारका हुन् ।

बेपत्ता बनेका दिवस शुक्रबार निधन भएका शंकरका छोरा हुन् । ७० वर्षीया जुनकिरी शंकरकी आमा हुन् । हरिमाया जेठी छोरी, अन्जना कान्छी छोरी र आगमन जुनकिरीको छोरी पट्टिका नाती हुन् । चालक अर्जुन जुनकीरीको माइलो ज्वाइँ हुन् । हिजो बुबालाई दागबत्ती दिएर फर्किएका १८ वर्षीय दिवश यो समाचार तयार पार्दासम्म त्रिशुली नदीमा नै हराइरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>