Breaking News

रत्ननगरको नेपाल नमुना माविमा प्रधानाध्यापक र अध्यक्षको कुर्ची रुखमुनि बाँधेर विरोध

Banner

चितवन, चैत १३-

एमाले निकट अनेरास्ववियुले रत्ननगरको नेपाल नमुना माध्यमिक विद्यालयमा शैक्षिक बेथिति बढेको भन्दै प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्षको कुर्ची रुखमुनि बाँधेर विरोध गरेको छ ।

उच्च अदालतको फैसला विरुद्ध नयाँ  प्रधानाध्यापक नियुक्ति गरिएपछि अनेरास्ववियुले विरोध गरेको हो ।

अनेरास्ववियु चितवनका अध्यक्ष हरि आचार्यले आज एक विज्ञप्ति जारी गर्दै नेपाल नमुना माध्यमिक विद्यालयमा भएको चरम राजनीतिक द्वन्द्वले विद्यालयको समग्र शैक्षिक वातावरण धमिलिएको विषयमा सम्बन्धित पक्षहरूलाई पटक–पटक सचेत गराउँदा पनि अटेरी गरेपछि सो कदम चालिएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ , ‘ विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाएर दुई व्यक्ति तथा समूहबीच भएको अन्तर द्वन्द्वले विद्यार्थीको अध्ययनलाई निकै नकारात्मक प्रभाव पारेको छ । आफ्ना छोराछोरी निजी विद्यालयमा पढाएर सर्वसाधारण गरिब निमुखा जनताका छोराछोरी पढ्ने विद्यालयलाई राजनीतिक प्रयोगशाला बनाइनु खेदजनक छ । गरिबका छोराछोरी पढ्ने विद्यालयलाई स्वार्थको राजनीति गरी लामो समयदेखि प्रयोगशाला बनाउँदा अनेरास्ववियु चितवन टुलुटुलु रमिता हेरेरमात्र बस्न सक्दैन । सामुदायिक विद्यालय ध्वस्त बनाएर निजी विद्यालयलाई प्रोत्साहन गर्ने गतिविधि भइरहदा आफूलाई शिक्षाप्रेमी भन्न रूचाउने स्वघोषित शैक्षिक ठेकेदारबाट वार्षिक परीक्षाको मुखैमा विद्यार्थीको भविष्य माथि खेलवाड भएको छ ।’

स्वार्थ बाझिने गरी आर्थिक एवम् राजनीतिक लाभको आशामा विद्यालय जस्तो संवेदनशील शान्ति क्षेत्रमा प्रधानाध्यापक र नगरपालिका प्रतिनिधिबीचको असामाजिक क्रियाकलापले विद्यालयको गरिमालाई धमिलो बनाएको विज्ञप्तिमा उल्लेख छ । उच्च अदालत पाटन हेटौंडा इजलासले थमौती गरेको प्रधानाध्यापकलाई पुनः नगरपालिका र नगर शिक्षा समितिको सल्लाहमा विद्यालय व्यवस्थापन समितिले हटाएर अदालतकै अपहेलना गर्नुले संस्थाको कार्य क्षमतामाथि प्रश्न चिन्ह खडा भएको अनेरास्ववियुको आरोप छ । विज्ञप्तिमा भनिएको छ , ‘नगरपालिका भित्रको एकमात्र नमुना विद्यालयको मैदानलाई रंगमञ्च बनाएर राजनीतिक नांगो नाच प्रदर्शन तत्काल रोक्न र शान्तिपूर्ण शैक्षिक गतिविधि अगाडि बढाउन अनेरास्ववियु जिल्ला कमिटी चितवन हार्दिक आग्रह गर्दछ ।’

राजनीतिक प्रतिशोधको आधारमा आफू निकट व्यक्तिलाई संरक्षण गरी विद्यालयलाई राजनीतिक भर्ती केन्द्र बनाउने गलत मनासयसहित राजनीतिक अभिष्ट पूरा गर्न गरिएको प्रपञ्च तत्काल रोकेर १० दिन भित्रमा विद्यार्थीको सर्वोत्तम हित हुनेगरी अगाडि बढ्न सम्बन्धित सबैमा अनेरास्ववियुको आग्रह छ । अनेरास्ववियुको यस शान्तिपूर्ण आग्रहको बेवास्ता भएमा अनेरास्ववियु टुलुटुलु हेरेर नबसी जस्तोसुकै सशक्त संघर्षमा उत्रन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>