Breaking News

इण्डो–नेपाल टी–२० : सुदूरपश्चिम र मधेश प्रदेश विजयी

Banner

चितवन, चैत १२–

चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टी–२० च्याम्पियनसीप क्रिकेट प्रतियोगितामा सोमबार सुदूरपश्चिम र मधेश प्रदेश विजयी भएका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा भएको पहिलो खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्दै सेमीफाइनल संभावना बलियो बनाएको छ । बागमतीले दिएको १ सय रनको झिनो लक्ष्य सुदूरपश्चिमले १३ ओभरमा मात्र ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो । सुदूरपश्चिमलाई सहज जित दिलाउन दीपक बोहोराले नटआउट ३५ र खडक बोहोराले नटआउट २८ रन बनाए । दीपकले २२ बलमै ४ छक्का र १ चौका प्रहार गर्दै ३५ रन जोडेका थिए । खडकले १९ बलमा ३ चौका र एक चौका प्रहार गरे । यस्तै दीपक बोहोरा १२, अभिषेक पाल ६ र प्रकाश पाण्डे ४ रनमा आउट भए ।

बागमतीका लागि कप्तान राम नरेश गिरीले ३ ओभरमा १६ रन खर्चिदै २ र विपिन आचार्यले २ ओभरमा १४ रन खर्चिदै एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमती ९९ रनमै अलआउट भयो । बागमतीका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३६ रन बनाए । २४ बल खेलेका पाण्डेले २ छक्का र ४ चौका प्रहार गरे । अर्का ओपनर शुभ कंशकार २ चौका प्रहार गर्दै १४ रनमा आउट भए । कप्तान राम नरेश गिरी १० रनमा आउट भए । बागमतीका अन्य कुनै पनि ब्याटरले दोहोरो अंक छुन सकेनन् । बागमतीलाई इशान र शुभ कंशकरले राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि उनीहरुले ४४ रनको साझेदारी गरेका थिए । कंशकर आउट भएलगत्तै टिमको स्कोर ५४ हुँदा इशान पाण्डे पनि आउट भएपछि बागमतीको पारी धरासयी बनेको थियो ।

बागमतीलाई सस्तैमा अलआउट गर्न सुदूरपश्चिमका भोजराज भट्ट र नरेन साउदले समान ३ विकेट लिए । भट्ट र साउद दुवैले ४ ओभरमा १८ रन खर्चिएका थिए । खडक बोहोरा र बसन्त खत्रीले समान एक विकेट लिए । खेलमा सुदूरपश्चिमका नरेश साउद प्लेयर अफ दि म्याच घोषित भए ।

यस्तै आज भएको दोस्रो खेलमा मधेश प्रदेशले घरेलु टोली भरतपुर मेयर्स ११ लाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। भरतपुरले दिएको १२० रनको लक्ष्य मधेशले १०.५ ओभरमा मात्र १ विकेट गुमाउँदै पुरा गरेको हो । यो जितसंगै मधेशको सेमीफाइनल प्रवेश गर्ने संभावना कायमै रहेको छ । मधेशलाई सहज जित दिलाउन ओपनर साहिल पटेलले ५० रनको अर्धशतकीय पारी खेले । उनी दिपेश श्रेष्ठबाट आउट हुनुअघि २२ बलमा ४ छक्का र ५ चौका प्रहार गरेका थिए । रोहन वि.क.४० र राहुल मण्डल २५ रनमा नटआउट रहे । पहिलो विकेटका लागि साहिल पटेल र रोहन वि.क.ले ८३ रनको विष्फोटक साझेदारी गरेका थिए ।

भरतपुरका कप्तान दिपेश श्रेष्ठले ३.५ ओभरमा ३२ रन खर्चिदै एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भरतपुर निर्धारित ओभरमा ११९ रन बनाउँदै अलआउट भयो । भरतपुरका लागि जेनिश महतले २९, विकल कुमार गुप्ताले २७ र प्रतिक श्रेष्ठले १९ रन बनाए ।

भरतपुरलाई सस्तैमा अलआउट गर्न मधेशका भुलन सहनी एक्लैले ५ विकेट लिए । ४ ओभर बलिङ गरेका भुलनले ३१ रन खर्चिएका थिए । यस्तै विशाल पटेलले २, अभिषेक तिवारी, प्रदीप पासवान र अरनिको यादवले समान एक विकेट लिए ।
पाँच विकेट लिएका मधेश प्रदेशका भुलन सहनी प्लेयर अफ दि म्याच घोषित भए ।

प्रतियोगितामा भारतको क्षेत्रीय टोली पीएसआर ग्रुप लखनउ ३ खेलमा ३ जितका साथ ६ अंक बटुल्दै शीर्ष स्थानमा रहेको छ भने भारतकै तालतला इन्स्टिटाइट कोलकाता २ खेलमा २ जितका साथ ४ अंक बटुल्दै दोस्रो स्थानमा रहेको छ भने ३ खेलमा २ जित र एक हारका साथ समान ४ अंक भएपनि नेटरनरेटको आधारमा पछिपर्दै सुदूरपश्चिम प्रदेश तेस्रो स्थानमा रहेको छ ।

प्रतियोगितामा पहिलो जित दर्ता गरेको मधेश प्रदेश ३ खेलमा १ जित र २ हार व्यहोर्दै २ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छभने घरेलु टोली भरतपुर ४ खेलमा एक जित र ३ हार व्यहोर्दै २ अंकका साथ पाचौँ स्थानमा झरेको छ । बागमती प्रदेश लगातार ३ खेलमा पराजित हुँदै पुछारमा रहेको छ । प्रतियोगिताको शीर्ष चार टोली सेमीफाइनल खेल्ने छन् भने उपाधि भिडन्त चैत १७ गते हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>