कृषि

काभ्रेमा सुन्तला जोगाउन किसानमा जागरण

Banner

काभ्रेपलाञ्चोक, चैत १०-

बेथानचोक गाउँपालिका–४ का किसानलाई सुन्तलाखेतीसम्बन्धी दुईदिने तालिम प्रदान गरिएको छ । त्यहाँका ४० किसानलाई गाउँपालिकाको कृषि विकास शाखाले एकैसाथ तालिम दिएको हो । शाखाले सुन्तला बगैँचा भएका वडाका किसानलाई तालिका बनाएर क्रमशः तालिम दिँदै जाने जनाएको छ ।

गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत बगैँचाका बोट सुक्ने, मर्ने फलको गुणस्तरमा कमी आउनेजस्ता समस्या किसानले भोग्नु नपरोस्, सुन्तला जात फलफूलको स्वस्थ बगैँचाबाट राम्रो उत्पादन दिँदै आइरहेकामा केही वर्षपछि उत्पादन घट्ने र बगैँचा अनुत्पादित भएर बोट मर्नसक्ने भएकाले किसानलाई समयमै जानकारी गराउन तालिमको आयोजना गरिएको जनाइएको छ ।

जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा किसानमा ल्याइएको यस जागरणमा बगैँचा स्थानको भौगोलिक विशेषता, स्याहार–सम्भार, मल–जल, रोग–किरा आदि राम्रो व्यवस्थापन गरे किसानले सुन्तलाखेतीबाट राम्रो लाभ लिनसक्ने भएकाले सुन्तला जातका फलफूल बगैँचामा देखापर्ने यस प्रकारको समस्याका कारण यस क्षेत्रमा किसान सचेतीकरण र उपचार गर्न जागरण कार्यक्रम अघि सारिएको हो ।

सुन्तालको फल झर्ने समस्या न्यूनीकरणका लागि गाउँपालिकाको कृषि शाखा र वडाले किसानलाई कीटनाशक औषधि तथा बिरुवाका लागि प्रोटिन–ब्रेट वितरण गरिरहेको गाउँपालिकाको कृषि विकास शाखा प्रमुख मधुसूदन दाहालले बताउनुभयो । उहाँका अनुसार उक्त वडामा सुन्तलाखेती बगैँचा निर्माणका लागि आउँदो असारमा पाँच हजार बिरुवा किसानलाई बाँड्ने योजना बनाइएको छ ।

पछिल्ला वर्षसम्म सुन्तलाका लागि प्रख्यात काभ्रेपलाञ्चोकको सुन्तला बगैँचामा ‘सूक्ष्म खाद्यत्व’को अभाव देखिएको पाइएकाले जिल्लास्थित सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनका क्रममा सूक्ष्म खाद्य तत्वको अभाव देखिएपछि पुनःजागृत गराउन आवश्यक देखिएको कृषि विकास कार्यालय धुलिखेलले जनाएको छ ।

सुन्तला पकेट क्षेत्रका बगैँचाको स्थलगत अनुगमनपछि समस्याग्रस्त सुन्तला बोटलाई पुनःजागृत गराउन कार्यालयले योजनाका साथ पहिलो चरणमा पनौती नगरपालिका–१० सत्यालडाँडामा रहेको पुरानो बगैँचाबाट सुन्तलाको बोटमा उपचार सुरु गरेको छ । पुराना बोट भए पनि समस्याग्रस्त सुन्तला बगैँचाका सुन्तलाका बोट काटेर नष्ट गर्नुको सट्टा सामान्य काँटछाँट गर्ने, ऐँजेरु हटाउने र चुन तथा नीलोतुथोको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउन पुराना सुन्तलाका बोटको उपचार थालिएको कार्यालयका प्रमुख कुलप्रसाद दवाडीले जानकारी दिनुभयो ।

दवाडीका अनुसार कार्यालयले सुन्तलाका बोटको उपचारका लागि बाली संरक्षण प्रयोगशाला हरिहर भवनको सहयोगमा सत्यालडाँडामा रहेका सुन्तला किसानलाई नीलोतुथो, कपरअक्सी क्लोराइड, हाँगा काट्ने आरी, सिकेचर, नीलोतुथो, सुन्तला टिप्ने भ¥याङ तथा १७ थान स्प्रेयर पम्प ८० प्रतिशत अनुदानमा वितरणसमेत गरिएको छ ।

“अन्य समस्याग्रस्त सुन्तला बगैँचामा क्रमशः उपचार गर्दै किसानलाई सहयोग गर्दै जाने र किसानलाई सुन्तलाका बोट जोगाउन जागरण अभियानको योजना बनाउँदै छौँ”, दवाडीले भन्नुभयो । सूक्ष्म खाद्य तत्वसँगै जिल्लाका सुन्तला पकेट क्षेत्र तीन नगरपालिका धुलिखेल, पनौती र नमोबुद्ध तथा बेथानचोक गाउँपालिकाको बगैँचामा नाइट्रोजन, फस्फोरस र पोटासको अभाव देखिएको जनाइएको छ ।

अभाव हटाउन सामान्य काँटछाँट गर्ने, एँेजेरु हटाउने, चुन र नीलोतुथो, प्रोटिन बेटको प्रयोग गरी पुराना बोटलाई उत्पादनशील अवस्थामा फर्काउँदा सुन्तलामा सूक्ष्म खाद्य तत्व न्यूनीकरण हुँदै जाने दवाडीले बताउनुभयो । गत वर्ष पनौती–९ स्थित पुरानो सुन्तला बगैँचा पुनःजागृत गराउन काँटछाँट, प्रोटिन बेटको प्रयोग, नीलोतुथो, चुनको प्रयोग र सूक्ष्म खाद्य तत्वको प्रयोग गरी सुन्तलाका बोटको उपचार गर्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

दवाडीले भन्नुभयो, “जिल्लाका सुन्तला किसानलाई सूक्ष्म खाद्य तत्वको प्रयोग गर्न सुझाव दिँदै आइएको छ, अब स्थानीय तहसँगको सहकार्यमा प्राविधिकसहित उपचारमा जाने छौँ ।” उहाँका अनुसार जिल्लाका सुन्तलाका बोट समस्याग्रस्त अवस्थामा रहे पनि कार्यालयमा चालु आर्थिक वर्षमा सुन्तला प्रवद्र्धनका लागि कुनै कार्यक्रम र बजेट छैन । रोगकै कारण सुन्तला उत्पादनमा कमी हुने भएपछि कार्यालयले प्राविधिक सल्लाह तथा आवश्यक औषधि वितरण गर्दै आएको कृषि प्रसार अधिकृत विवेकानन्द महतले बताउनुभयो । उहाँका अनुसार गत वर्षसम्म जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको छ । यसका कारण बोटमा रहेका सुन्तलामध्ये दश प्रतिशत कुहिएर झर्ने गर्दछन् ।

गत वर्ष छ हजार पाँच सय १४ मेट्रिकटन सुन्तला उत्पादन भएको थियोभने यस वर्ष करिब सात हजार मेट्रिकटन सुन्तला उत्पादन भएको जनाइएको छ । जिल्लाको शङ्खु, शारदाबतासे, पनौती, बल्थली, चलाल गणेस्थान, कुशादेवी, रयाले, महेन्द्रज्योति, काभ्रे, पात्लेखेत, फूलबारी, श्यामपाटी, साँगा, जनागाललगायतका स्थान सुन्तला पकेट क्षेत्र हुन् ।

कार्यालयका अनुसार जिल्लामा सुन्तलाखेती हुँदै आएको हाल एक हजार दुई सय ६४ हेक्टर (२५ हजार रोपनी) जमिनमा वार्षिक करिब सात हजार मेट्रिकटन सुन्तला उत्पादन हुँदै आएको छ । केही वर्षअघिसम्म काभ्रेपलाञ्चोकमा वार्षिक रु ४० करोडभन्दा बढी सुन्तला बिक्रीबाट भित्रिने गर्दथ्यो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>