समाचार

कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको कविता सङ्ग्रह लोकार्पण

Banner

नवलपुर, चैत ९-
राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाको कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ लोकार्पण गरिएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आज साँझ पत्रकार र मानव अधिकारकर्मीको उपस्थितिमा पुस्तक लोकार्पण गरिएको हो ।

रचनाकार धर्मेन्द्र झाको कविता सङ्ग्रह नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, गोरखापत्र संस्थानका महाप्रबन्धक लाल ऐरी, एमनेस्टी इन्टरनेसनल नेपालका अध्यक्ष विपिन बुढाथोकी, पत्रकार महासङ्घकी केन्द्रीय सचिव सृजना अर्याल, न्यूनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य शान्ता अधिकारीलगायतले लोकार्पण गर्नुभएको हो ।

मिथिला नाट्यकला परिषद्ले प्रकाशन गरेको उक्त मैथिली कविता सङ्ग्रहमा एउटै शीर्षकमा विभिन्न ५१ वटा कविता लेखिएको कार्यकारी अध्यक्ष झाले बताउनुभयो । विसं २०४७ देखि विसं २०६७ सम्मको दुई दशक अवधिमा लेखिएका कविताहरुको सङ्ग्रह शहरक भीडमे एसगर हम भएको भन्दै उहाँले आम मानिसको समस्या लगायत विविध विषयवस्तुलाई कवितामा उठान गरिएको बताउनुभयो ।

पुस्तक प्रकाशन भएको करिब ६ महिनापछि देशभरका पत्रकार र मानव अधिकारकर्मीको बीचमा पुस्तक लोकार्पणको विषय महत्वपूर्ण भएको उहाँको भनाइ छ । “दुई दशक समयको कविताहरु एउटै शीर्षकमा लेखिएको यो पुस्तक मैथिली साहित्यमामात्रै नभएर सम्भवतः नेपाली साहित्यमा नै पहिलो हुनसक्छ” उहाँले भन्नुभयो, “देशको केन्द्रमा पर्ने नवलपुरले नेपालको सबै भागलाई जोड्ने भएका कारण यस ठाउँलाई पुस्तक लोकार्पणका लागि छनौट गरेको हो ।”

कविता सङ्ग्रहको भूमिकामा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य डा योगेन्द्रप्रसाद यादव, कवि तथा सञ्चारकर्मी डा नवराज लम्साल, मैथिली कवियत्री विभा झाले कवि र कविता सङ्ग्रहका बारेमा लेख्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>