राजनीति

आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्छः डा महत

Banner

काठमाडौँ, चैत ७-
प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका डा प्रकाशशरण महतले आम्दानी र स्रोतको सुनिश्चितता गरेर बजेट निर्माण गर्नुपर्ने सुझाव दिनुभयो । आर्थिक वर्ष २०८१/ ८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) माथिको छलफलमा उहाँले भन्नुभयो “अर्थतन्त्रलाई सुदृढ बढाउन कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँछ, कुन क्षेत्रमा लगानी गर्दा प्रतिफल आउँदैन भनेर लक्षित गरेर बजेट बनाउन जरुरी छ । लगानी बिस्तारै बढ्न थालेको छ, पर्यटक बिस्तारै आउन थालेका छन्, बिस्तारै आर्थिक अवस्थामा सुधार हुँदै जान्छ ।”

सामाजिक सुरक्षामा ठूलो दायित्वलाई भएकाले स्रोतको प्राथमिकीकरण गरेर खर्च गर्नुपर्ने र अनावश्यक खर्च कम गर्ने विषयमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो । सोही पार्टीका सञ्जयकुमार गौतमले नेपाली जनताले महसुस गर्ने खालको विकास गर्नुपर्ने र त्यसका लागि सरकारले प्राथमिकता निर्धारण गर्नुपर्ने सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ईश्वरबहादुर रिजालले पहाडी बस्तीहरुलाई सहरउन्मुख एकीकृत बस्ती निर्माण गरी समाजवाद, गाउँको विकास र सामग्रमा देशको विकास हुने बताउनुभयो । उहाँले संविधानले अङ्गीकार गरेको व्यवस्थाअनुसार बजेटमा लोककल्याणकारी राज्य, दलितजस्ता शब्दसमेत नभएको गुनासो गर्नुभयो । सोही पार्टीका दीपा शर्माले गत फागुनमा मात्र ६५ हजार युवा काम तथा अध्ययनका लागि विदेशिएको हुँदा युवालाई स्वदेशमै रोजगारी दिने खालको वातावरण बजेटले ल्याउनुपर्नेमा जोड दिनुभयो ।

एमालेकै सूर्यकुमारी श्रेष्ठले युवालाई खाडी मुलुकमा पलायनलाई रोक्नुपर्ने र सडक सञ्जाल विस्तारलाई प्राथमिकताका साथ बजेटमा राख्नुपर्नेमा जोड दिनुभयो । सोही पार्टीका नारायणप्रसाद आचार्यले सुरक्षित नागरिक आवास, नदी नियन्त्रण र सिँचाइ योजनामा बजेट निर्माणमा ध्यान दिनुपर्ने माग गर्नुभयो भने रामशङ्कर यादवले विकासका लागि आधारभूत स्थान र प्राथमिकताका आधारमा बजेट निर्माण गर्नुपर्ने सुझाव दिँदै बजेटमा धेरै कुरा छुटेको हुनाले परिमार्जन गर्नुपर्नेमा सुझाव दिनुभयो ।

एमालेकै रुक्मणी राणा बराइलीले गरिबी, भोकमरी, प्राकृतिक विपद्को तयारी, सबै नेपालीलाई सामाजिक सुरक्षाको दायरमा ल्याउने गरी बजेट बनाउनुपर्ने सुझाव दिनुभयो । सोही पार्टीका लालप्रसाद साँवा लिम्बूले १८ हजार निर्माण व्यवसायी कार्यरतमध्ये रु ५० अर्बभन्दा बढी झुक्तानी बाँकी रहेको र पूर्वाधार विकास निर्माणमा दुई हजारभन्दा ठेक्का सम्झौताको म्याद सकिएको हुँदा निर्माणको काम ठप्प रहेको हुँदा त्यसतर्फ बजेटले ध्यान दिनुपर्नेमा सुझाव दिनुभयो ।

बैठकमा एमालेका सचेतक सुनिता बरालले गरिबी कम गर्ने, रोजगारी बढाउने, किसान र युवालाई एकीकृतरुपमा अगाडि बढाउने खालका कार्यक्रम बढाउनुपर्ने सुझाव दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मीना तामाङले विकासको प्राथमिकताका आधारमा अध्ययन गरी बजेट विनियोजन गर्नुपर्ने सुझाव दिनुभयो । सोही पार्टीका छिरिङ गम्डुल लामा (भोटे) ले कर्णालीमा हिमाली जडीबुटी केन्द्र, पर्यटकीय केन्द्र, हुम्लाको सिमीकोटको रङ्गशाला र रेलमार्ग निर्माण गर्ने योजना बजेटमा ल्याउन माग गर्नुभयो । माओवादीकै दुर्गा राईले बजेट समतामूलक समाज निर्माण गर्न वैदेशिक रोजगारीलाई न्यून गरी स्वदेशमै रोजगारी दिने खालको हुनुपर्ने सुझाव दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>