अन्तर्राष्ट्रिय

चर्चित पाकिस्तानी क्रिकेटरले खेलका क्रममा ‘ड्रेसिङ रुम’ मै चुरोट तानेपछि विवाद

Banner

काठमाडौँ, चैत ७-

ईस्लामाबाद युनाइटेडलाई पाकिस्तान सुपर लिग (पीएसएल)को उपाधि चुमाएलगत्तै क्रिकेटर ईमाद वसिम विवादमा परेका छन् । पाकिस्तानका अनुभवी क्रिकेटर ईमाद वसिम आफ्नै चर्तिकलाका कारण आलोचित हुन पुगेका हुन् ।

पीएसएलको फाइनलमा ईस्लामाबाद युनाइटेडले मुल्तानका सुल्तानलाई दुई विकेटले हराएको थियो । ईस्लामाबाद युनाइटेडको जितमा ईमाद वसिमले अविजित १९ रनको योगदान गरेका थिए । ईस्लामाबाद युनाइटेडले अन्तिम ओभरको अन्तिम बलमा विजय लक्ष्य पुरा गरेको थियो।

आफ्नो टोलीलाई उपाधि चुमाएलगत्तै अलराउन्डर ईमाद वसिमले ‘ड्रेसिङ रुम’ मा चुरोट तानेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । आफ्नो त्यही चर्तिकलाका कारण ३५ वर्षीय ईमाद वसिम आलोचित बनेका हुन् ।

त्यो तस्बिर उनी फाइनलमा ब्याटिङ गर्न आउनु अघिको भएको समाचारमा जनाइएको छ । ‘ड्रेसिङ रुम’ मै चुरोट तानेको विषयलाई लिएर धेरै समर्थकले सामाजिक सञ्जालमा उनको आलोचना गरेका छन् । फाइनल खेलमा ईमाद वसिम प्लेयर अफ दी म्याच पनि घोषित भएका थिए ।

ईमाद वसिमले पाकिस्तानका लागि ५५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दै कुल नौ सय ६८ रन बनाएका छन् । उनले देशका लागि ६६ टी–२० अन्तर्राष्ट्रियमा कुल चार सय ८६ रन बनाएका छन् । उनले एक दिवसीयमा ४४ र टी–२० अन्तर्राष्ट्रियमा ६५ विकेट पनि लिएका छन् । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>