कृषि

भूमिगत सिँचाइ आयोजनाले फलेवासका किसानलाई राहत

Banner
पर्वत, चैत ६-
लामो खडेरीका कारण पर्वतका किसान आक्रान्त भएका छन् । वर्षा नहुँदा उनीहरूले बर्खे बाली लगाउन पाएका छैनन् भने हिउँदे बाली सुक्न थालेकामा चिन्ता व्यक्त गरेका छन् ।
फलेवासका किसानको अवस्था भने अलि पृथक छ । फलेवास नगरपालिका वडा नं ६ को देवीस्थान र चौबिसकुरियामा निर्माण गरिएका दुईवटा भूमिगत सिँचाइ आयोजनाबाट स्थानीयले खेतबारी सिँचाइ गर्न थालेका हुन् । तीस–तीस लाखको लागतमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतले दुईवटा आयोजना निर्माण गरेको हो ।
जमिनमुनिको पानी तानेपछि अहिले हिउँदे बालीमा सिँचाइ गर्न सहज भएको स्थानीय किसान रमेश चापागाईँले जानकारी दिनुभयो । चौबिसकुरियामा निर्माण भएको भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १२ लिटरका दरले पानी निस्किएको छ भने देवीस्थान भूमिगत सिँचाइ आयोजनाबाट प्रतिसेकेण्ड १० लिटरका दरले पानी तानिएको उहाँले बताउनुभयो ।
जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पर्वतका प्राविधिक लोकबहादुर खड्काका अनुसार दुवै आयोजनाबाट २० हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको छ । दुवै आयोजनाबाट प्रतिघण्टा तीन रोपनी क्षेत्रफलमा सिँचाइ गर्न सकिन्छ ।
स्थानीय किसानले पालैपालो जमिन सिँचाइ गर्ने गरेका छन् । गहुँ, आलुमा सिँचाइ गरिसके स्थानीयले अब खेतमा मकै छर्न सिँचाइ गरिरहेको सिकन रमेश चापागाईँले जानकारी दिनुभयो ।
भूमिगत सिँचाइ आयोजना निर्माणपछि हिउँदका तीन महिना बाँझै रहने खेतबारीमा अहिले बाह्रैमास खेती लगाउन सहज भएको छ । आयोजना सञ्चालनपछि स्थानीयले गहुँ, जौँ,तोरी, आलुलगायतमा सिँचाइ गरिसकेका छन् भने अब मकै छर्ने तयारी गरेका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>