राजनीति
नेता श्रेष्ठलाई आक्रमण गर्ने तीनजनालाई राप्रपाले गर्यो ४ वर्षका लागि निलम्बन

काठमाडौं, चैत ४-
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीनजनालाई राप्रपाले निलम्बन गरेको छ ।
सो घटनामा संलग्न पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नं. ४ का क्षेत्रीय अध्यक्ष रिद्धीप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई निलम्बन गरिएको हो ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी अनुशासन समितिको सिफारिसका आधारमा चार वर्षका लागि निलम्बित गरेका हुन् । गत फागुन २७ गते आइतबार राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो ।
घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले कार्यसम्पादन समितिलाई सिफारिस गरेको थियो । सोही बमोजिम अध्यक्ष लिङदेनले आज कारबाही गरेको राप्रपा स्रोतले बतायो ।
























