स्वास्थ्य

लिमीका बालबालिका खोपबाट वञ्चित

Banner

हुम्ला चैत ४-

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिका दादुरा–रुवेला खोप लगाउनबाट वञ्चित भएका छन् ।

देशभर नौ महिनादेखि पाँच वर्ष मुनिका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउने राष्ट्रिय अभियान सञ्चान भए पनि नाम्खा–६ का तील, जाङ र हल्जी गाउँका ५४ बालबालिका खोपबाट वञ्चित भएका छन् । यहाँका बालबालिका दादुरा–रुवेलाविरुद्धको मात्र नभएर अन्य खोपबाट पनि वञ्चित रहेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम सिंहले जानकारी दिनुभयो ।

“हिमपातका कारण नाम्खा गाउँपालिकासँग जोडिएको सडक बन्द छ, यातायात सेवा बन्द हुँदा खोप कार्यक्रम प्रभावित भएको हो”, उहाँले भन्नुभयो । लिमी स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी कार्यरत भए पनि हिउँले बाटो बन्द हुँदा खोप ढुवानी गर्न नसकिएको प्रमुख सिंहले बताउनुभयो । लिमीमा हेलिकप्टरमार्फत खोप ढुवानीका लागि स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतलाई पत्राचार गरिएको उहाँको भनाइ छ ।

खोप ढुवानी गर्न हेलिकप्टर भाडाबापत रु दुई लाख खर्च लाग्ने प्रमुख सिंहले बताउनुभयो । “बजेट नहुँदा लिमीमा राष्ट्रिय खोप कार्यक्रम सञ्चालन हुन सकेको छैन । हिउँले बाटो अवरुद्ध हुँदा खोप गाउँपालिकाको स्वास्थ्य शाखामै थन्किएको छ । अब वैशाखपछि बाटो खुलेपछि मात्र खोप अभियान सञ्चालन हुन्छ”, उहाँले भन्नुभयो । गत कात्तिक महिनायता त्यहाँका बालबालिकाले नियमित खोप लगाउन पाएका छैनन् ।

गाउँपालिकाका अन्य खोप केन्द्रमा भने दादुरा–रुवेला विरुद्धको खोप अभियान सञ्चालन भइरहेको छ । नाम्खाका अन्य गाउँमा भने यही चैत १ गतेदेखि दादुरा–रुवेलाविरुद्धको खोप लगाउने कार्य जारी छ । सो अभियान यही चैत ७ गतेसम्म सञ्चालन हुने छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>