इच्छकामना

चितवनको अग्लो पहाड सिराइचुलीमा ढकमक्क लालीगुँरास, पर्यटकको आकर्षण बन्दै

Banner

निरुता बि.क

चितवन, चैत १-

समुन्द्र सतहबाट एक हजार ९४६ मिटर उचाइमा रहेको चितवनको अग्लो पहाड सिराइचुली यतिबेला ढकमक्क लालीगुँरासले ढाकिएको छ ।

मौसममा लालीगुँरासले ढकमक्क भरिएको जङ्गल, टाढा–टाढासम्मको रमणीय दृश्य र विविधप्रकारका चराचुरुङ्गी पनि देख्न पाइन्छ । यहाँ पुग्ने जो कोहीलाई लालीगुँरासको मनोमहक दृश्यले लोभ्याउँछ । चैत–वैशाखमा वनैभरि गुराँस फुल्ने हुँदा सूर्योदयसँगै प्रकृतिको पनि आनन्द लिने गन्तव्य सिराइचुली बनेको छ । यहाँबाट बिहानै सूर्याेदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । सिराइचुलीबाट चितवनको तराईका फाँट तथा छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको सम्पूर्ण भूभाग तथा धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रेृ , लाङ्टाङ, गणेश, मनासलुलगायतका हिमश्रृङ्खला सजिलै देख्न सकिन्छ ।

सिराइचुली पुग्नको लागि पृथ्वी राजमार्गको हुग्दी खोलाबाट डेढ घण्टाको यात्रामा होमस्टे भएको हात्तीबाङहुँदै जान सकिन्छ । त्यसैगरी दक्षिणतर्फ चितवन शाक्तिखोरबाट चौकीडाँडा हुँदै पनि यहाँ पुग्न सकिन्छ । चौकीडाँडा हुँदै सिराइचुली पुग्ने सडकको पनि भर्खरै मात्र ट्रयाक खोलिएको छ । हात्तीबाङबाट चितवनको पुरानो सदरमुकाम उपरदाङ्गढी हुँदै शक्तिखोर र सौराहासमेत जान सकिन्छ ।

यस क्षेत्रमा आदिवासी चेपाङ, गिरी, पुरी, मगरलगायत जातिको परम्परा मौलिक संस्कृति, भेषभुषा तथा सुन्दर पहाडी क्षेत्रमा दुर्लभ चराहरु अवलोकन गर्न सकिन्छ । सिराइचुलीमा बाह्य र आन्तरिक दुवै पर्यटकहरु आउने गर्छन् ।

सिराइचुलीलाई लक्षित गरेर चितवनको इच्छाकामना गाउँपालिका–१ हात्तीबाङमा छ ओटा घरबास (होमस्टे) सञ्चालनमा छन् । सिराइचुली घुम्न आउने पर्यटक बढेसँगै यहाँ रहेका होमस्टेमा बास बस्न आउनेहरु पनि बढेका छन् । यस वर्ष सिराइचुली पर्यटकको संख्या बढेको इच्छाकामना गाउँपालिकावडा नं १ का सचिव दिनेश पराजुलीले नारायणी अनलाइनलाई जानकारी दिए । सचिव पराजुलीले दैनिक ३५ देखि ४० जनासम्म पर्यटक सिराइचुली डाँडा अवलोकन गर्न आउने बताए । उनले भने, ‘बिगतका वर्षहरुमा भन्दा यस वर्ष पर्यटकको चहलपहल बढ्दो छ । मुख्यतया सिराइचुली डाँडाबाट सूर्याेदय हेर्नको लागि पर्यटक आउने गर्छन् ।’ सचिव पराजुलीका अनुसार गर्मी याममा गर्मी छल्नको लागि तराईका मानिसहरु सिराइचुली आउने गर्छन् । हिउँद समयभन्दा बर्खायाममा पर्यटकको संख्या उल्लेख्य हुने गर्छ ।

पाहुना पर्यटकलाई लोकल पथ प्रदर्शकको व्यवस्था पनि छ । पर्यटकले सिराइचुलीको डाँडाबाट सूर्याेदय हेर्न मनपराउने भएकोले पर्यटक हात्तिबाङमा रहेको होमस्टेमा बास बसी साँझ कला संस्कृति नाँचगान गर्दै रमाउने गरेको सिराइचुली होमस्टेका सञ्चालक जगदिश पुरी बताउँछन् । विसं २०६२ सालबाट होमस्टे सञ्चालन गर्दै आएका उनले सिराइचुली अवलोकन गर्न आएका पर्यटकलाई खादामाला लगाएर स्वागत गर्न व्यस्त छन् ।

उनले होमस्टेमा बास बस्न आउने पर्यटकको संख्या उल्लेख्य भएको सुनाए । उनले भने,‘ पछिल्लो समय यता पर्यटकको संख्या बढ्दै गएको छ । दैनिक २ देखि ४ जनासम्म आउँछन् । कहिलेकाही त २० देखि २५ जनाको समूहमा पर्यटक आउने गर्छन् ।’ होमस्टेमा २२ जनासम्म पर्यटक बस्न मिल्ने क्षमता भएको उनले सुनाए । उनले भने, ‘बिगतमा ९० जनासम्म पर्यटक आउनु भएको थियो । त्यतिखेर यहाँ बस्ने ठाउँ नपुगेर अन्य होमस्टेमा पठाएका पनि छौँ ।’ उनले वार्षिक सात लाखसम्म आम्दानी हुने बताए । आफ्नो आम्दानी प्रति सन्तुष्ट भएको उनले सुनाए ।

सिराइचुली पर्यटकलाई लोभ्याउने प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि प्रचारप्रसार र संरक्षणको अभाव छ । यस ठाउँलाई केन्द्रबिन्दु बनाएर विकास गर्न सकिने सम्भावना छ तर त्यहाँ निमार्णाधीन संरचनाहरुलाई व्यवस्थित रुपले व्यवस्थापन गरिएको देखिदैन । यहाँ पानी, शौचालयको व्यवस्था छैन । यदि यी सबैको व्यवस्थापन भएको भए पर्यटकको संख्या अझ बढ्ने सञ्चालक पुरीको भनाइ छ । सिराइचुली डाँडामा निर्माण गरिएको फलामे रेलिङ भत्किएको लामो समय भइसक्दा समेत मर्मत नहुँदा पर्यटकहरु त्यहाँबाट खसेर दुर्घटना हुन सक्ने जोखिम समेत देखिएको छ ।

लोकल खाना खुवाउँदै आफ्नो होमस्टेमा पर्यटक भित्र्याएका सबुत होमस्टेका सञ्चालक तिलक रानाले सिराइचुली अवलोकन गर्न आउनेकोे संख्या बढेको जानकारी दिए । विसं २०५४ सालबाट सञ्चालित उनको होमस्टेमा दैनिक तीन चार जना पर्यटक आउने गर्छन् । वार्षिक दुई लाख रुपैयाँसम्म आम्दानी गर्ने उनले होमस्टेमा आउने पर्यटकको इच्छाअनुसार लोकल खाना खुवाउँदै पर्यटकलाई खुसी बनाएका छन् । उनले भने, ‘होमस्टेमा आउने पर्यटकको इच्छाअनुसार लोकल खाना खुवाउँदै पर्यटकलाई खुसी बनाउँछौँ । कोदो, फापर, लोकल मह, सागसब्जी , लोकल कुखुराको मासुलगायत खाना पर्यटकले मिठो मानेर खानुहुन्छ ।’ उनले आन्तरिक पर्यटकसँगै बाह्य पर्यटक पनि सिराइचुली अवलोकन गर्न आउने गरेको बताए । अमेरिका, जापान, चीनबाट पनि पर्यटक आउने गर्दछन् । सिराइचुलीमा हरेक नयाँ वर्ष वैशाख १ गते मेला लाग्ने गर्छ । नयाँ वर्षमा पञ्चेबाजासहितको नाँचगान हुने र पर्यटकको संख्या उल्लेख्य हुने गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>