राजनीति

कांग्रेसको अफर रास्वपाले स्वीकार नगर्ने

Banner

काठमाडौं, फागुन २२-
सत्ता गुमाएको कांग्रेसबाट आएको प्रधानमन्त्रीको अफर रास्वपा सभापति रवि लामिछाने स्वीकार नगर्ने भएका छन् । पार्टीको कोर टीमसँग छलफलपछि उनी कांग्रेसको ललिपपमा नलोभिने भएका हुन् ।

कांग्रेसले नयाँ गठबन्धन नथिग्रिदै तोड्ने ध्येयले रविलाई प्रस्ताव गरेको थियो । रास्वपा महामन्त्री डा.मुकुल ढकालले नेपाल प्रेससँग कुरा गर्दै कांग्रेसबाट प्रस्ताव आएको स्वीकार गरे ।

उनले कांग्रेसका प्रस्तावमा रास्वपा नलोभिने बताए । उनले यो गठवन्धनलाई नै बलियो बनाएर लैजाने पक्षमा रास्वपा रहेको तर पार्टीको हैसियत अनुसार सम्मााजनक स्थान पाउनुपर्नेमा जोड दिए । अरू दलहरू पनि एकपटक गरेको सहमतिबाट पछि हट्नु नहुने उनको भनाइ छ ।

कांग्रेसले अघिल्लोपटक एमाले–माओवादी गठबन्धन बन्दा पनि यसैगरी खेल्न खोजेको थियो । त्यसबेला राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको थियो । प्रचण्डले बालकोट पुगेर प्रधानमन्त्री बनेपछि राप्रपालाई रोक्न कांग्रेसले अनौपचारिक प्रस्ताव गरेको थियो र त्यो कुरा लिङदेनले पनि स्वीकार गरेका थिए ।

यसपटक पनि कांग्रेसले गठबन्धन भत्काउन र बहुमत पुग्न नदिन रविलाई सो प्रस्ताव अनौपचारिकरुपमा राखेको हो । दुवै पक्षले यसलाई गम्भीरतासाथ अघि बढाएका भने छैनन् । संविधान बमोजिम पनि अब प्रचण्ड सरकार ढलेमा धारा ७६ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको नेताको हैसियतमा देउवा प्रधानमन्त्री बन्छन् ।

यद्यपी कांग्रेसले एमाले र माओवादीबाहेकको सरकार गठनको पहल भने भित्रभित्रै थालेको छ । भूराजनीतिक शक्तिको समेत यसमा प्रयोग भएको छ । त्यो अवस्थामा रविसँग आलोपालोको समेत सहमति हुनसक्ने र माधव नेपाललाई समेत प्रचण्डसँग जान नदिने प्रयास भने भइरहेको छ ।

यसैबीच नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कसैलाई पनि कांग्रेसले प्रधानमन्त्रीको अफर नगरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>