समाचार
विवाह गर्न नमान्दा प्रेमीले गरे बालिकाको हत्या

मोरङ, फागुन २२-
मोरङको पथरीशनिश्चरेमा सोमबार राति शौचालय जान निस्किएकी १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।
खोटाङको ऐंसलुखर्क गाउँपालिका–६ सल्ले घर भई पथरीशनिश्चरे नगरपालिका–७ स्थित लामा टोलीमा बस्दै आएकी १५ वर्षीया सन्जना भन्ने ज्ञानमति थुलुङ राईलाई धारिलो हतियार प्रहार गरेर हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए।
बालिकाको हत्या गरेको आरोपमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई हाल बारा जितपुर सिमरा उपमहानगरपालिकामा बस्दै आएका ३८ वर्षीय धिरेनकुमार खाँ चौधरीलाई पक्राउ गरिएको बताउँदै, एसपी कार्कीले भने, ‘प्रेमी चौधरीले आफूभन्दा २३ वर्ष कम उमेरका प्रेमिका राईको हत्या गरेको खुलेको छ। उनीहरूबिच केही समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो। सम्बन्धमा समस्या आएपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिन्छ।’
चौधरीका २ वटी आमा छन्। बुवाले कान्छी आमा ल्याएर ग्रामथानमा बस्न थालेपछि आफ्नी आमासँग सिमरा बस्दै आएका थिए। सिमरामा पनि चौधरीको घर छ। ३र४ महिनादेखि चौधरी ग्रामथान आएका थिएनन्। चौधरी मंगलबार बिहान २ बजेतिर बेलबारीस्थित भाउन्नेको जङ्गलबाट पक्राउ परेका थिए।























