धादिङ
धादिङबाट हराएका सागर ११ महिना हुँदा पनि भेटिएनन् , बेवारिसे शवबारे बुझ्दै भाइ

पुजा ढकाल
चितवन, फागुन २०-
धादिङबाट हराएका एक पुरुष ११ महिना हुँदा पनि फेला परेका छैनन् ।
गत चैतमा हराएका नुवाकोट बिदुर नगरपालिका पिपलटारका ३५ वर्षीय सागर कुँवर हराएको ११ महिना हुँदा पनि फेला नपरेका हुन् ।
सागरका भाइ सन्देश कुँवरका अनुसार सागर मानसिकरुपमा अस्वस्थ थिए । अत्यधिक मादक पदार्थ सेवन कारण दिमागी सन्तुलन गुमाएका सागर काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) को उपचारपछि केही ठिक भएको सागरका भाई सन्देशले जानकारी दिए ।
सन्देशले भने, ‘हराउन भन्दा पहिले दाइले मादक पदार्थ सेवन गर्नुहुन्थ्यो । जसको कारण उहाँको मानसिक अवस्था ठिक थिएन । तर, टिचिङ अस्पतालको उपचारपछि र डाक्टरको सल्लाह अनुसार औषधि सेवन गरेपछि भने उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आयो र दाइले मादक पदार्थ सेवन गर्न पनि छाड्नु भयो । ’ यसरी मानसिक अवस्था ठिक हुँदै गएका आफ्ना दाई एक्कासी हराएको सन्देशले बताए ।
सन्देशले पछिल्लो एक वर्षमा दाई सम्पर्कमा नआउँदा विभिन्न ठाँउमा भेटिएका शव दाईको हुन सक्ने भन्दै सबै ठाँउमा बुझे पनि भेटिएका कुनै पनि शव दाईको हो भनेर सूचना नआएको जानकारी दिए ।
सागरका सानोबुवा टेकराज कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालय धादिङ र नुवाकोटमा खोजीका लागि निवेदन दिए पनि प्रहरीबाट यस विषयमा कुनै सूचना आएको छैन । टेकराजले भने, ‘सागर औषधि सेवन गरेको २\३ महिनामा हराएका हुन् । तर, यतिका महिना हुँदा पनि सागर सम्पर्कमा आएका छैनन् । हामीले सागरले लिएको मोबाइल नम्बरमा फोन गर्दा पनि फोन लाग्दैन ।’ त्यस्तै टेकराजले प्रहरीमा खबर गरे पनि अहिलेसम्म प्रहरीबाट यस विषयमा कुनै सूचना आउन नसकेको बताए ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार सागर हराएको निवेदन प्रहरीमा गत चैत ३० गते सागरकी आमा कमला कुँवरले दर्ता गराएकी थिइन् । कार्यालयले निवेदनमा सागर विवाहित रहेको उल्लेख गर्याे । कार्यालयले सागरको खोजी कार्यको लागि देशभरका प्रहरी तथा तथा प्रदेश र संघीय प्रहरी कार्यालयलाई सूचना गरिएको जानकारी दिएकाे छ। कार्यालयका अनुसार प्रहरीले सागरको मोबाइलमा सम्पर्क गर्न खोजे पनि उनको मोबाइलमा सम्पर्क हुन सकेको छैन ।

























