देश/प्रदेश

विपश्यना ध्यान गरेका बन्दीलाई गृहमन्त्रीको सुझाव– जीवन परिवर्तनको ‘गहना’लाई अनुकरण गरिरहनुहोला

Banner
काठमाडौँ, फागुन १९ –
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपश्यना ध्यानले जीवन रुपान्तरण गर्न सघाउ पुर्‍याउने भएकाले जीवनपर्यन्त ध्यानको अभ्यास गर्न कैदीबन्दीलाई सुझाव दिनुभएको छ । लतिलपुरको नक्खु कारागारमा नेपाल विपश्यना केन्द्रद्वारा सञ्चालित १० दिने ध्यान शिविरको आज समापनका अवसरमा उहाँले हरेक दिन विपश्याना ध्यानको अभ्यासमा लाग्न कैदीबन्दीलाई अनुरोध गर्नुभयो ।
“ध्यानले तपाईहरुलाई कारागार छाडेपछि असल जीवनयापन गर्न सहयोग पु¥याउँछ, हिजो के भयो त्यो बिर्सनुस्, अब समाजमा फर्कदा यहाँहरु अरुभन्दा असल हुनुहुन्छ”, ध्यानले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “असल नागरिक बन्ने प्रक्रियामा ध्यान अभ्यासले धेरै नै सहयोग पु¥याउने छ, तपाईंहरु त्यसतर्फ अघि बढ्नुहोला ।”
ध्यानमार्फत आफूलाई हेर्ने, चिन्ने र फेर्ने प्रक्रियाको विधिद्वारा सुसज्जित गर्न सकियो भने सिङ्गो समाजलाई नै परिवर्तन गर्न सकिने उहाँको भनाइ छ । “यहाँहरुले जीवन परिवर्तनको गहना प्राप्त गर्नुभएको छ, त्यसलाई सदैव अनुकरण गरिरहनुहोला”, उहाँले भन्नुभयो । सरकार कैदीबन्दीको कारागार जीवन सहज बनाउन, श्रमको सदुपयोग हुने स्थिति बनाउन तथा मानसिक र शारीरिक स्वास्थ्य राम्रो बनाउन क्रियाशील रहेको उल्लेख गर्दै उहाँले कैदीबन्दीलाई रुपान्तरण गर्ने, जीवन फेर्ने अभियान चलाउन खोजिएको बताउनुभयो । “जेलभित्र पनि ध्यान शिविर चलाउने त्यसकै कदम हो, सबै बन्दीलाई ध्यान विधिद्वारा जीवन रुपान्तरण गराउन लागिएको छ”, उहाँले भन्नुभयो ।
ध्यान कार्यक्रममा सुरुआतको अनुभव समापनसम्ममा सुखद्मा परिणत हुने सुनाउँदै उहाँले एकपटकको ध्यानले मात्र जीवन रुपान्तरण नहुने बताउनुभयो । “शिविरले विधि सिकाएको छ, अब आफैँले अभ्यास गर्नुपर्छ”, उहाँले भन्नुभयो, “गृह मन्त्रालयले मातहतका सबै निकायमा छोटो अवधिको ध्यान अभ्यासलाई अघि बढाएको छ ।”कारागारमा पर्याप्त समय लिएर चलाइएको विपश्याना ध्यान कार्यक्रमले कैदीबन्दीको जीवनमा रुपान्तरण ल्याउने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अब दैनिक यसको अभ्यास गर्न सुझाव दिनुभयो । “ध्यान आफ्नो जीवन रुपान्तरणका लागि नै गरिने हो, ध्यानले स्वअनुसाशित हुन सिकाउँछ”, उहाँले भन्नुभयो, “बन्दीको जीवनमा रुपान्तरण आउँदा समाज र देशलाई फाइदा हुन्छ, पहिलो फाइदा भने बन्दीलाई नै हुन्छ ।”
वर्तमान सरकार मुलुकलाई राजनीतिक परिवर्तन अधिकार प्राप्तिका क्षेत्रमा मात्रै सीमित हुन नदिइ समाज रुपान्तरणमा अघि बढाउन खोजिरहेको बताउनुभयो । “राजनीतिक परिवर्तनलाई माध्यम र साधन बनाएर सिङ्गो समाजको रुपान्तरण गर्नुपर्छ भनेर सरकार क्रियाशील छ”, उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “शिक्षा, स्वास्थ्य, रोजगारीलगायत आधारभूत आवश्यकता पूरा गरेर जनताले नयाँ जीवन पाउनुपर्छ, सरकारको ध्यान यसतर्फ छ ।”
उपप्रधानमन्त्री श्रेष्ठले यही फागुन ८ गते नक्खु कारागारमा ध्यानकेन्द्रको उद्घाटन गर्नुभएको थियो । विपश्याना ध्यान केन्द्रको लगानीमा उक्त ध्यानकेन्द्र निर्माण गरिएको कारागार कार्यालयका प्रमुख कल्पना घिमिरेले जानकारी दिनुभयो । १० दिनसम्म चलेको सो ध्यान शिविरमा तीन सुरक्षाकर्मीसहित ४८ कैदीबन्दीले सहभागिता जनाएका थिए ।
नेपाल विपश्यना केन्द्रले देशभरि १९ ध्यानकेन्द्र निर्माण गरेको छ । नक्खु कारागार ध्यान केन्द्र तीन महिनाको तयारीपछि सञ्चालनमा आएको हो । केन्द्रले १६ देशका कारागारमा शिविर सञ्चालन गरिसकेको विपश्यना ध्यानकेन्द्रका क्षेत्रीय आचार्य डा रुप ज्योतिले जानकारी दिनुभयो ।  रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>