चितवन विशेष
भरतपुर-१२का वडाध्यक्ष पन्त गौ संरक्षण केन्द्र वागेश्वरीबाट सम्मानित

चितवन, फागुन १७-
भरतपुर महानगरपालिका वडा नम्बर १२का वडाध्यक्ष लेखराज पन्त ‘हरि’ योगी नरहरिनाथ गौ संरक्षण केन्द्र वागेश्वरीको संरक्षक सदस्यको रुपमा सम्मानित हुनुभएको छ । वागेश्वरीमा संरक्षित गाईलाई दीर्घकालसम्म संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको गौ अक्षयकोष स्थापनामा महत्वपूर्ण योगदान पुर्याएको भन्दै अध्यक्ष पन्तलाई सम्मानित गरिएको हो ।
योगी नरहरिनाथको ११० औं प्राकट्य दिवसको अवसर उहाँलाई महानगर प्रमुख रेनु दाहालको हातबाट संरक्षक सदस्यको रुपमा सम्मानित गरिएको केन्द्रका संयोजक नवराज ढकालले जानकारी दिनुभयो । अध्यक्ष पन्तले केन्द्रले सञ्चालन गरेको अक्षयकोष खातामा एक लाख एक हजार रुपैयाँ समेत सहयोग गनुभएको छ ।
वागीश्वरीमा योगी नरहरिनाथले २०४९ सालबाट यहां गौ संरक्षण अभियानको थालनी गर्नु भएको थियो । हाल यस गौ संरक्षण केन्द्रमा २ सय २५ स्थानीय जातका गाई संरक्षित छन । अक्षयकोष खातामा ११ हजार भन्दाबढी गौ सेवा गर्ने दातालाई गौ संरक्षण केन्द्रको आजीवन सदस्यको रुपमा सम्मानित गर्ने गरिएको छ । एकलाख रुपैयाँ भन्दा बढी गौ सेवा गर्ने दातालाई संरक्षक सदस्यको रुपमा सम्मानित गर्ने गरिन्छ । हालसम्म अक्षयकोषको खातामा ७५ लाख रुपैयाँ जम्मा भएको उहाँले जानकारी दिनुभयो । यलाई ३ करोड रुपैयाँ पुर्याउने लक्ष्य भएको गौ संरक्षण केन्द्रका संयोजक ढकालले बताउनुभयो । उहाँले यो अभियानमा जोडिन सम्पूर्ण गौ भक्त एबम् दानबिरलाई आब्हान गर्नु भएको छ ।
























