Breaking News
रत्ननगरमा छात्रा मृत्यु प्रकरणमा प्रिन्सिपलसहित ३ जना पक्राउ

काठमाडौँ, फागुन १६-
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्यु बारे अनुसन्धान गर्न प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेन रहेका छन् । कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिवार मृत भेटिएकी हुन् ।
झुण्डेको अवस्थामा खबर आएपछि घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए । डीएसपी भण्डारी भन्छन्,‘घटनामा संलग्न आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
शालिन दुई वर्षदेखि सो होस्टलमा बसेर पढ्थिन् । बुवा र आमा सम्बन्ध बिच्छेद गरेर उनकी आमा दुबई र बुवा काठमाडौँमा बस्छन् । उनी पछिल्लो समय रत्ननगर–१५ स्थित माधवपुरमा रहेको मामाघरमा बस्थिन् । पक्राउ गरिएकाहरुविरुद्ध ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको डीएसपी भण्डारीले जानकारी दिए ।


























