चितवन विशेष
चितवनमा ६० प्रतिशत सस्तोमा सरकारी स्वास्थ्य प्रयोगशाला

निरुता विक
चितवन, फागुन १२-
भरतपुरमा सस्तो मूल्यमा स्वास्थ्य परीक्षणका लागि प्रयोगशाला सञ्चालनमा छ ।
बाहिरको निजी प्रयोगशाला भन्दा ६० प्रतिशत सस्तोमा सेवा लिन पाउने गरी प्रयोगशाला सञ्चालनमा आएको हो ।
बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको यस प्रयोगशालामा विभिन्न रोग परीक्षण गर्न आउने बिरामीको संख्या बढ्दै गएको छ । प्रयोगशाला स्थापना भएको करिब आठ महिनामा चार हजार ५०० जनाले सेवा लिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक नारायणबहादुुर कार्कीले जानकारी दिए ।
उनकाअनुसार अहिले दैनिक ४० देखि ५० जना यहाँ परीक्षणका लागि आउने गरेका छन् । उनले भने, ‘असार १६ गतेदेखि फागुन १० गतेसम्म चार हजार ५०० जनाले सेवा लिएका छन् । प्रयोगशाला स्थापना भएको दुई तीन महिनासम्म दैनिक १०–१५ जना मात्र परीक्षण गर्न आउने गरेकोमा अहिले त्यो संख्या बढेर दैनिक ४० देखि ५० जना पुगेको छ ।’ उनकाअनुसार प्रयोगशालामा मधुमेह, लिपिड प्रोफाइल, थाइराइड रोगको परीक्षण गर्न आउनेको संख्या बढी छ । प्रयोगशालामा नसर्ने, सर्ने रोगको अध्ययन, गुणस्तर मापन जस्ता कामहरु गर्ने गरिएको छ । प्रयोगशालामा हिमाटोलोजी, बायोकेमेस्ट्री, मलेरिया, डेङ्गु, एचआइभी, सुगर, कालाजार, थाइराइडलगायत परीक्षण हुन्छ ।
आर्थिक अवस्था कमजोर भएका तथा अपाङ्गता भएका व्यक्तिकोे पहुँचमा स्वास्थ्य सेवा पु¥याउन लागि छिटो छरितो र विश्वसनिय सेवा दिइएको निर्देशक कार्कीले बताए । उनले भने, ‘यस प्रयोगशालामा बाहिर भन्दा सस्तोमा परीक्षण हुन्छ । बाहिर रहेको प्रयोगशालाको तुलनामा यस प्रयोगशालामा ४० प्रतिशत मात्र शुल्क लाग्ने छ ।’ यहाँ ६० वर्ष पुगेका व्यक्तिलाई ५० प्रतिशतमात्र परीक्षण शुल्क लाग्ने गरेको छ भने वडा कार्यालयबाट गरिब, विपन्न सिफारिस ल्याएर आउने बिरामीले निःशुल्क परीक्षण हुने गरेको उनले बताए ।’ ६० वर्ष पुगेका व्यक्तिलाई यस प्रयोगशालामा ५० प्रतिशत मात्र परीक्षण शुल्क लिने गरिएको छ भने महामारीजन्य रोग मलेरिया, डेङ्गु, कालाजार जस्ता रोगको परीक्षण निःशुल्क हुने गरेको छ ।
























