विचार/ब्लग

नेपाली विद्यार्थीको आकर्षक गन्तव्य यसरी बन्दैछ युरोप

Banner

अशेष उप्रेती

उच्च शिक्षा साथै अवसरको खोजीमा विदेश जाने युवाहरुको ट्रेन्ड पछिल्लो समय फेरिँदै गरेको विभिन्न सूचांकहरुले देखाएका छन् । विशेषगरी युरोपका विभिन्न देशमा पढाइका लागि जाने युवाहरुको संख्या उल्लेख्य रुपमा बढ्न थालेको सरकारी तथ्यांकले पनि देखाएको छ ।

डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड, जर्मनी, स्विडेन, इटाली लगायतका देशमा पढ्न जानेहरुको संख्या बढ्दो छ । नेपालमा प्लस टु, स्नातक तथा स्नातकोत्तर तह सकेपछि अन्तर्राष्ट्रिय डिग्री तथा करिअरका लागि युवाहरु युरोप जाने गर्छन् । पढाइ, रोजगारी, कम खर्च र सेटलमेन्टको रुपमा सहज वातावरण भएकाले पनि आम नेपाली युवाहरुको प्रमुख रोजाइ युरोप बन्न थालेको छ ।

युरोप नै किन ?

त्यसो त, अमेरिका, क्यानडा, अष्ट्रेलिया र बेलायत पनि पढाइ र अवसरका लागि आकर्षक गन्तव्य हुन् । तर पछिल्लो समय विदेशी विद्यार्थीका लागि ती देशहरुका कडा नीतिका कारण युरोप नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यको रुपमा स्थापित बन्दैछ । उदाहरणका लागि क्यानडा र भारतबीच लामो समयदेखि गहिरिँदै गरेको तिक्तताको असर नेपाली विद्यार्थीहरुले पनि भोग्नु परिरहेको छ । क्यानडाका युनिभर्सिटीमा भर्ना भइसक्दा पनि भारतस्थित राजदूतावासले नेपाली विद्यार्थीलाई पनि भिसा नदिने गरेको छ ।

साथै श्रीमान वा श्रीमतिलाई डिपेन्डेन्ट भिसामा लैजान कठिन हुने र जान पाए पनि डिपेन्डेन्टले काम गर्न नपाउने भएकाले क्यानडा जाने तयारीमा रहेका हजारौं युवा विद्यार्थीहरु निरुत्साही बन्ने गरेका छन् । अर्कोतर्फ अत्याधिक महंगो र उता गएपछि काम र कोठा नपाउने समस्याले क्यानडा जाने लक्ष्य बनाएका नेपाली युवाहरु युरोपतिर मोडिन थालेका छन् ।

यस्तै कुनै समय सजिलै अष्ट्रेलिया जान मिल्ने उपाय भए पनि पछिल्लो समय अष्ट्रेलिया जाने प्रक्रिया निकै झन्झटिलो र खर्चिलो हुन थालेको छ । यसले पनि अष्ट्रेलिया जान चाहने युवाहरुको बाटो मोडिएर युरोप नयाँ गन्तव्य बनेको छ ।

कसरी सजिलो छ युरोपको बाटो ?

प्रमुख कुरा त कलेजमा थोरै जीपीए आएर वा आईईएलटीएस वा पीटीईमा अपेक्षित रिजल्ट ल्याउन नसक्दा धेरै नेपाली विद्यार्थीहरुले हैरानी भोग्दै आएका छन् । जसले गर्दा चाहेको देश वा युनिभर्सिटीमा भर्ना नपाउने समस्या रहँदै आएको छ । साथै फेल भएर पढाइमा ग्याप देखिनु वा बढ्दो उमेर अर्को चुनौतीको रुपमा देखिने गरेको छ । यसमाथि पनि खर्चिलो ट्युसन फि त छँदैछ । तर युरोपका अधिकांश देश र युनिभर्सिटीहरु उमेर, पढाइको ग्याप र जीपीएको सन्दर्भमा लचिलो बन्ने गर्छन् । अर्थात् यस्ता विषयमा अमेरिका, क्यानडा र अष्ट्रेलियाका युनिभर्सिटीले झैं कडाइ साथ युरोपमा हेरिँदैन । कतिपय युनिभर्सिटीमा त आईईएलटीएसबिना पनि भर्ना पाउने उपाय हुन्छ । र युरोपका युनिभर्सिटीमा छात्रवृत्ति पाउने सम्भावना उत्तिकै धेरै हुने गर्छ । जवकि अष्ट्रेलिया, क्यानडामा छात्रवृत्ति पाउन निकै मुस्किल हुने गर्छ ।

शिक्षा मन्त्रालयको तथ्यांक अनुसार प्राविधिक शिक्षा पढ्न युरोपेली मुलुक जाने विद्यार्थी संख्या पछिल्लो समय तीव्र रुपमा बढेको छ । समाजिक विज्ञान, इन्जिनियरिङ, पब्लिक हेल्थ, बायोटेक्नोलोजी, बायोमेडिकल साइन्स, एमबिए अध्ययन गर्न ठूलो संख्यामा विद्यार्थीले ‘नो अब्जेक्सन लेटर’ लिइरहेको मन्त्रालयका वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका उपसचिव नन्दलाल पौडेल बताउँछन् । शिक्षा मन्त्रालयका अनुसार ०७१र७२ साउनदेखि पुससम्ममा युरोपेली देशमा कुल २ हजार ४६ विद्यार्थी उच्च शिक्षा हासिल गर्न गए ।

उपसचिव पौडेलका अनुसार ६ महिनाभित्र सबैभन्दा बढी विद्यार्थीले स्नातकदेखि माथिको पढाइका लागि नोअब्जेक्सन लेटर लिएका छन् । तीमध्ये न्युजिल्यान्ड, डेनमार्क, जर्मनी र फिनल्यान्ड जाने विद्यार्थीको संख्या धेरै रहेको पौडेलको भनाइ छ । यस्तै फ्रान्स, स्पेन, इटली, नर्वेका लागि पनि नेपाली विद्यार्थी उच्च शिक्षा हसिल गर्न जाने गरेको तथ्यांक छ ।

युरोपेली मुलुकको शिक्षामा ‘ग्रेडिङ’ प्रणाली हुने भएकाले विद्यार्थी असफल हुने सम्भावना रहँदैन। कमजोर शैक्षिक योग्यता हासिल गरेकालाई प्राविधिक शिक्षा दिएर अघि बढाइन्छ । युरोपेली देशको शिक्षा प्रणालीमा कमजोर विद्यार्थीलाई समेत व्यावसायिक सीप दिएर अघि बढाउने व्यवस्थाले युरोप आकर्षक गन्तव्य बन्ने गरेको छ । यसरी सन् २००७ मा युरोपका मुख्य देशमा स्नातक तहमा अध्ययन गर्न जाने विद्यार्थीको संख्या एक हजार रहेकोमा हाल यो संख्या ५ हजार पुगिसकेको सरकारी तथ्यांक छ ।

(लेखक २ दशकयता शैक्षिक परामर्शदाताको रुपमा सक्रिय छन् । उनी आउट स्टडी अब्रोडको निर्देशक पनि हुन् )

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>