कृषि

भरतपुरमा दुई वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबेलको उद्घाटन

Banner

चितवन, फागुन १०–

भरतपुर वडा नम्बर १७ मा एकै दिनमा २ वटा डिप बोरिङ र १८ वटा स्यालो ट्युबेलको उद्घाटन भएको छ ।

आज बिहीबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले दुबै थरीका बोरिङको उद्घाटन गरेकी हुन् ।

भरतपुरमा भूमिगत सिँचाई कार्यालयबाट ५० वटा डिप ट्युबेल, ३३० वटा स्यालो ट्युबेल र महानगरपालिकाबाट ७०० बढी स्यालो ट्युबेल राख्ने काम भइसकेको छ ।

उद्घाटन कार्यक्रममा महानगर प्रमुख दाहालले सिँचाईको अभावले बाली लगाउन सकिएन भन्ने अवस्था हट्दै गएको उल्लेख गरिन् । भरतपुरमा सञ्चालित भूमिगत र सतह सिँचाईले कृषकको मुहारमा खुसी आएको महसुस गरेको प्रमुख दाहालले बताइन् । ‘पहिलेको सुख्खाग्रस्त ठाँउमा हाराभरा भएका छन्’, उनले भनिन्,‘एक बाली हुने ठाँउमा चार बाली हुन थालेको छ । अहिले कृषकहरु खुसी भएको पाएको छु । १२ महिना भरतपुरलाई सिँचित गर्ने गरी महानगरले काम पनि गरिरहेको छ ।’

भरतपुरमा भूमिगत सिँचाई, नारायणी लिफ्ट सिँचाई र केरुङगा घोल सिँचाई परियोजना एक साथ सञ्चालनमा आउँदा यहाँका जमिनमा १२ महिना प्रशस्त सिँचाई गर्न सकिने प्रमुख दाहालको विचार छ । पश्चिम चितवनका सिँचाईको अभावमा पहिला बाझा रहने खेतहरु अहिले सिँचाईका कारण धान, मकै, गहुँबाहेक तोरी, तरकारी र अन्य बेमौसमी खेतीहरु उत्पादन हुने क्रम सुरु भएको उनको भनाइ छ । कार्यक्रममा भूमिगत सिँचाई आयोजनाका प्रमुख देवकुमार स्याङ्बोले भूमिगत सिँचाईका कारण भरतपुरको उत्पादनमा वृद्धि भई कृषकले मनग्य आम्दानी गर्न सफल भएको जानकारी दिए ।

सिँचाइको उपभोग गरी वार्षिक ६ लाख रुपैयाँको मकै बिक्री गरेर मनग्य आम्दानी गर्ने पश्चिम चितवनका कृषकले रिर्पोटिङ गरेको सो अवसरमा प्रमुख स्याङ्बोले बताए । भरतपुरमा प्राकृतिक रुपमा मात्र सिँचाई गरी बाली लगाउने अवस्थाको भने अन्त्य भएको उनको तर्क थियो ।

भरतपुर–१७ का कृषक सन्त चौधरीले धान, मकै, गहुँ उत्पादन हुदै आएको खेतीमा अब भने तरकारी खेती पनि हुने भएकाले उत्साहित भएको बताए । भरतपुरमा भएका ट्युबेलले कुल छ हजार १२० विघा क्षेत्रफलमा सिँचाईका सुविधा प्राप्त गरेका छन् । यो बाहेक नारायणी लिफ्ट सिँचाई आयोजना र केरुङ्गा जल सिँचाई आयोजनामार्फत भरतपुरका कृषकले सिँचाई सुविधा लिइरहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>