राजनीति

‘कांग्रेस प्रतिवेदनमा सञ्चार क्षेत्रका विषय नसमेटिनु दुःखद्’

Banner

काठमाडौँ, फागुन ९-
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपाली कांग्रेसको महासमिति बैठकमा सञ्चार क्षेत्रलाई समेटेर कुनै पनि प्रस्ताव नआउनु दुःखद् भएको बताउनुभएको छ ।
प्रेस युनियनका तर्फबाट महासमिति सदस्य चयन हुनुभएका अध्यक्ष लम्सालले महासमिति बैठकमा आज आफ्नो धारणा राख्दै सञ्चार क्षेत्रले जताततै चुनौती भोग्दै गरेको अवस्थालाई कांग्रेसको महासमिति बैठकमा प्रस्तुत कुनै पनि प्रतिवेदनमा समावेश नगरिनु दुःखद् भएको बताउनुभयो ।

“प्रेस, न्यु मिडिया एवं समग्र पत्रकारिता जगत्ले भोग्दै आएका चुनौतीबारे महासमिति बैठकमा कुनै पनि प्रतिवेदनमा केही आएन, नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक दलले सञ्चार क्षेत्रका विषयमा धेरै कुरा समेट्न सक्नुपथ्र्यो तर आएन”, लम्सालले भन्नुभयो ।

उहाँले कांग्रेसले गुट या ‘आफ्नो मान्छे’ प्रवृत्तिलाई छोडेर परिणाममुखी कामका माध्यमबाट कांग्रेसलाई बलियो बनाउन सबै तहका नेताहरु लाग्नुपर्ने सुझाव पनि दिनुभयो ।

लम्सालले पार्टीबाट निर्वाचित भएका नेताहरुमा पालिकाका वडादेखि प्रदेश हुँदै केन्द्रीय तहसम्म नै भ्रष्टाचार बढ्दै गएको व्यापक जनगुनासो रहेको पनि बताउनुभयो । सत्तामा भएको गठबन्धनका कारण धेरै क्षेत्रमा कांग्रेसका कार्यकर्ता एवं समर्थकले अवसर गुमाउनुपर्ने अवस्था आएको बताउनुभयो ।

महाससमिति बैठकमा धारणा राख्दै महासमिति सदस्य तथा वरिष्ठ पत्रकार तारानाथ दाहालले दुई महामन्त्रीले पेस गरेका प्रतिवेदनलाई परिमार्जनसहित बैठकले पारित गर्दा महासमितिमा आएका शब्दको थुप्रोलाई व्यवस्थित गर्न सकिने धारणा राख्नुभएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>