Breaking News

राप्ती नगरपालिकामा लफडा, कांग्रेस–एमालेका जनप्रतिनिधिले गरे तालाबन्दी

Banner

चितवन, फागुन ९-

चितवनको राप्ती नगरपालिकामा कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका छन् । आज बुधबार उनीहरुले नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

नगरप्रमुख शमशेर लामाले पटकपटक अनुरोध गर्दा पनि कार्यपालिका बैठक र हिउँदे नगरसभा नगरेका कारण तालाबन्दी गरिएको कांग्रेसबाट निर्वाचित वडा नम्बर १२ का वडा अध्यक्ष अर्जुन प्रजाले जानकारी दिए ।

‘मेयर गठबन्धनको भोटबाट निर्वाचित भएका हुन्’ प्रजाले भने, ‘ तर, अहिले एकलौटी गर्न खोजे, तानाशाही बन्न थाले । राजा मै हूँ भने ।’ उनले तोक आदेशका भरमा नगरपालिका चलाउन खोजेको भन्दै वडावडाका विकास निर्माणमा समेत हस्तक्षेप गरेको आरोप लगाए । ‘नगरपालिकामा सबैलाई मिलाउनुपर्ने प्रमुख नै सिस्टममा चल्नु भएको छैन । हरेक कुरा भद्रगोल भएको छ’ प्रजाले भने । २३ जना कार्यपालिका सदस्य मध्ये प्रमुख  र दुई जना वडाअध्यक्ष बाहेक सबै जनप्रतिनिधि प्रमुख लामाको कार्यशैलीप्रति सन्तुष्ट नरहेको प्रजाले बताए ।

दुई वडा अध्यक्षमध्ये एक जना एकीकृत समाजवादी र एक जना स्वतन्त्र हुन् । प्रमुख लामा एकीकृत समाजवादी र उपप्रमुख नेपाली कांग्रेसबाट गठबन्धन मार्फत् निर्वाचित भएका थिए ।पछिल्लो समय प्रमुख र उपप्रमुखको सम्बन्ध पनि राम्रो नभएको कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले बताएका छन ।

प्रत्येक महिना हुनुपर्ने कार्यपालिका बैठक बिगत आठ महिनादेखि हुन नसकेको वडा नम्बर ४ का वडा अध्यक्ष केदार आचार्यले बताए । उनले लामोसमयदेखि कार्यपालिका बैठक नबोलाएको, हिउँदे नगरसभा नबोलाएको, जनप्रतिनिधिलाई गालीगलौजमा उत्रिएको, तोकआदेशका आधारमा नगरपालिका सञ्चालन गर्न खोजेको र सुशासन कायम नगरेकाले तालाबन्दी गर्न बाध्य भएको नारायणी अनलाइनलाई जानकारी दिए । आचार्यले पटकपटक अल्टिमेटम दिँदा पनि बेवास्ता गरेका कारण तालाबन्दी गरेर आन्दोलनमा उत्रनु परेको बताए ।

नगर प्रमुख शमशेर लामाले भने कार्यपालिकामा बहुमतको दम्भ देखाएका कारण बैठक नबोलाएको बताए । उनले भने, ‘मैले सहमति गरेर कार्यपालिका बैठक आव्हान गर्दा पनि अदालत जाने लगायतका गतिविधि भए । त्यसैले बैठकको औचित्य देखिन । नगरका कामहरु नियमित भइरहेका छन् । ’ उनले नगरपालिकामा तोकआदेश गर्ने मेयर आफू भएको भन्दै उपप्रमुखको तोक लगाएर काम गर्ने प्रयास गरिएको भन्दै विरोध जनाए । उनले भने, ‘कांग्रेस–एमालेका जनप्रतिनिधिले अराजनीतिक गतिविधि बढाएका छन् । मेयरले गरेन भन्ने देखाउन एकजुट भएका छन् ।’ उनले गैरकानुनी क्रियाकलापलाई आफूले साथ नदिने भन्दै वडाका काममा कुनै हस्तक्षेप नगरेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>