Breaking News
चितवनमा दुई विदेशीसहित नौं ठूला उद्योग दर्ता, पाँच अर्ब बढी लगानी

चितवन, फागुन ८-
चितवनमा दुई विदेशीसहित नौं ठूला उद्योग दर्ता भएका छन् ।
उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार अनुसार गत आर्थिक वर्ष २०७९\८० मा चितवनमा सञ्चालन गर्ने गरी ती उद्योग दर्ता भएका हुन् ।
दर्ता भएका उद्योगमा तीन होटल, एक औषधि कम्पनी, दुई खाद्यान्न, एउटा इँटा उद्योग, एक पोल्ट्री र एक चुरोट उद्योग रहेका छन् । उद्योग विभागका अनुसार दर्ता भएका विदेशी लगानीका उद्योगमा १० करोड लगानीमा सिंगापुरको एक होटल छ भने नेदरल्याण्डको ३७ करोड १५ लाख ५५ हजार रुपैयाँ लगानीको कन्फेसनरी उद्योग रहेका छन् । यी दुई उद्योगले १७८ जनालाई रोजगारी दिने लक्ष्य राखेका छन् ।
त्यसैगरी अन्य स्वदेशी लगानीका उद्योगहरुमा राप्ती ९ को टायम इँट उद्योग, भरतपुर महानगरपालिका–१४ को जेनेरिका फर्मास्युटिकल्स, भरतपुर–४ मा बरफेदी भ्यान मेली नेपाल नामको खाद्यान्न उद्योग, रत्ननगर १४ मा रोहित टोबाको प्रालि, खैरहनी नगरपालिका–२ मा समुन्नत सञ्जिवनी फार्म प्रालि, भरतपुर–२७ मा सस्वना रिसोर्ट, भरतपुर–१० मा चितवन बिजनेश कम्प्लेक्स प्रालि रहेका छन् । यी सबै स्वदेशी र विदेशी लगानीको उद्योगमा लगानी जोड्दा पाँच अर्ब बढी हुन आउँछ ।
तथ्यांक विभागका अनुसार योसँगै चितवनमा बिगत १० वर्षमा २५६ ओटा उद्योग दर्ता भएका छन् । जसमा ३६ अर्ब १४ करोड ६० लाख बढी लगानी छ ।
























